ट्रेन्डिङ

बारा पथलैया ट्राफिकका एसपी सिलवालमाथि छानबिन सुरु

वीरगन्ज । ट्राफिक व्यवस्थापन कार्यालय बारा पथलैयाका एसपीमाथि छानबिन सुरु भएको छ ।

मधेस प्रदेशस्थित राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बारा पथलैयाका एसपी राजकुमार सिलवालमाथि छानबिन थालिएको हो । मधेस प्रहरीले एसपी सिलवालमाथि छानबिन सुरु गरेको गरेको डिआइजी उमाप्रसाद चतुर्वेदीले बताए । उनका अनुसार एसपी सिलवाल आचरण विपरीतको काम गरेको आशंकामा उनीमाथि छनबिन थालिएको हो ।

मधेस प्रहरीका अनुसार सिलवालमाथि छानबिन गर्न ३ वटा समिति गठन गरिएको छ । छानबिन समितिको नेतृत्व एसएसपी भीम दाहाल, एसएसपी कमल थापा र एसपी नारायण रञ्जितकारले गरेको प्रदेश प्रहरीले जनाएको छ ।

एसपी सिलवालबिरुद्ध मधेस प्रदेश प्रहरी कार्यालय र प्रहरी प्रधान कार्यालयमा ३५ थान उजुरी परेको प्रदेश प्रहरीले जानकारी दिएको छ । डिआइजी चतुर्वेदीले भने, ‘३५ थान उजुरी आएको छ, त्यसबारे समितिले छानबिन गरिरहेको छ ।’

एसपी सिलवालले मापसे गरेर सवारी चलाउने चालकलाई जरिवाना गरेर छाड्नुपर्नेमा रातभर नियन्त्रणमा राखेको र चालकहरूसँग रकम असुल्ने गरेको उजुरीमार्फत आरोप लागेको छ । यसको साथै उनले चोरीको गाडी नियन्त्रणमा लिएर भन्सार बुझाउनुपर्नेमा आफूखुसी प्रयोग गरेको समेत आरोप छ ।

 

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै