मधेशको मुख्यमन्त्री कार्यालयबाट ६५ लाखको सफ्टवेयर गायब

जनकपुरधाम । मधेश प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट ६५ लाख रुपैयाँ बराबरका ६ वटा कम्प्युटर सफ्टवेयर गायब भएको पाइएको छ।

आर्थिक वर्ष २०७७/०७८ मा खरिद गरिएका यी सफ्टवेयरहरू अहिलेसम्म कार्यालयको जिन्सी खातामा दाखिला भएका छैनन्।

तत्कालीन मुख्यमन्त्री लालबाबु राउतको पालामा खरिद गरिएका ती सफ्टवेयरहरूको भुक्तानी भने खरिद भएकै वर्ष सम्बन्धित आपूर्तिकर्ता कम्पनीहरूलाई भइसकेको छ। कार्यालयका जिन्सी शाखा प्रमुख रामअशिष रायले अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट पत्र आएपछि खोजतलास गर्दा सफ्टवेयरहरू जिन्सीमा दर्ता नभएको पुष्टि भएको बताए।

गायब भएका सफ्टवेयरहरूमा इन्भेन्टरी म्यानेजमेन्ट इन्फर्मेसन सिस्टम (आईएमआईएस), अफिस अटोनोमेसन सिस्टम (ओएएस), पर्सनल इन्फर्मेसन सिस्टम (पीपीआईएस), कन्ट्र्याक्ट म्यानेजमेन्ट इन्फर्मेसन सिस्टम (सीएमआईएस), प्रोजेक्ट पर्फरमेन्स सिस्टम (पीपीआईएस) र डाटा इन्ट्री एन्ड रिपोर्टिङ एप्लिकेसन सिस्टम रहेका छन्। यी सबै सफ्टवेयरको कुल लागत झन्डै ६५ लाख रुपैयाँ रहेको छ।

कार्यालय स्रोतका अनुसार, कुनै कार्यविधि, योजना र औचित्यबिना नै तत्कालीन कार्यालय सचिव यमप्रसाद भुषालको एकल निर्णयमा यी सफ्टवेयरहरू खरिद गरिएको थियो। सचिव भुषाल यसअघि नै ‘बेटी पढाउ, बेटी बचाउ’ कार्यक्रमअन्तर्गत साइकल खरिदमा भएको भ्रष्टाचारको आरोपमा दोषी ठहर भइसकेका पात्र हुन्।

यस घटनाबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै