उखु किसानको आन्दोलनमा नेपाल संघीय समाजवादी पार्टीको ऐक्यबद्धता

वीरगन्ज । नेपाल संघीय समाजवादी पार्टीले उखु किसानहरूको आन्दोलनलाई समर्थन गर्दै सरकारलाई किसानका माग तत्काल सम्बोधन गर्न कडा चेतावनी दिएको छ।

पार्टीका केन्द्रीय उपमहासचिव जनक कार्कीको नेतृत्वमा गएको टोलीले आज माइतीघर मण्डलामा जारी किसानको धर्ना कार्यक्रममा पुगी ऐक्यबद्धता जनाएको हो।

पार्टीका नेताहरूले सरकारको उदासीनताका कारण किसानहरूको अवस्था दयनीय भएको भन्दै सरकारले आफ्ना जायज माग पूरा नगरे सडक संघर्षमा उत्रिने चेतावनी दिएका छन्।

कार्यक्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उपमहासचिव कार्कीले ‘उखु किसानहरू यो देशका मेरुदण्ड हुन्, उनीहरूको रगत–पसिनाको मोल राज्यले बेवास्ता गर्ने काम अब सह्य हुँदैन’ भने । त्यसैगरी, केन्द्रीय सचिव दिनेश पाख्रिनले किसानलाई बेवास्ता गर्नु राष्ट्रघात भएको बताए । बागमती प्रदेश इन्चार्ज चन्द्र तामाङले माग पूरा नभए आन्दोलन थप चर्किने चेतावनी दिए भने केन्द्रीय सदस्य राजेन्द्र रामले किसानको न्याय बिना समृद्ध नेपालको परिकल्पना गर्न नसकिने बताए ।

पार्टीले प्रेस विज्ञप्ति जारी गर्दै पनि किसान आन्दोलनलाई समर्थन जनाएको छ र सरकारलाई तत्काल माग पूरा गर्न आग्रह गरेको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै