उखु किसानलाई सडकमा आउन बाध्य पार्नु सरकारको असफलता : डा. शेखर कोइराला

वीरगन्ज । प्रमुख विपक्षी दल नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले उखु किसानहरूले भोगिरहेको समस्यालाई लिएर सरकारको चर्को आलोचना गरेका छन्।

उखुको बोटसहित किसानहरू सडकमा उत्रिनुलाई ‘अत्यन्त दुःखद’ भन्दै उनीहरूको माग तत्काल पूरा गर्न कोइरालाले सरकारलाई आग्रह गरेका हुन्।

सामाजिक सञ्जाल ‘एक्स’ (पहिले ट्विटर) मार्फत डा. कोइरालाले भनेका छन्, ‘उखुको बोट सहित किसान सडक आन्दोलनमा आउनु अत्यन्त दुःखद स्थिति हो। उनीहरूको माग तुरुन्त पुरा गरौँ।’

उनले कृषिलाई प्राथमिकतामा राखेको कुरा सरकारले केवल किताब र भाषणमा मात्र सीमित राखेको आरोप लगाएका छन्। ‘खेतीको बेलामा मल नपाउने, खेतमा हुनुपर्ने बेलामा किसान मल किन्न लाइनमा उभिनुपर्ने, उत्पादन भएको दूध सडकमा फाल्नुपर्ने, देशको प्रमुख नगदे बाली उखुमा कहिले भुक्तानी नपाउने, कहिले अनुदान कटौती गरिने, अनि हामी कसरी खाद्यान्नमा आत्मनिर्भर हुन सक्छौँ ? कृषिलाई सरकारले प्राथमिकतामा राखेको भनेर किताबमा लेखेर तथा भाषणमा बोलेर मात्रै हुन्छ र ?’ उनले प्रश्न गरेका छन्।

डा. कोइरालाले किसानले भोगिरहेका यी समस्याहरूलाई सरकारको असफलताको रूपमा व्याख्या गर्दै कृषि क्षेत्रको वास्तविक अवस्था र सरकारको नीतिको बीचमा ठूलो खाडल रहेको औंल्याएका छन्। यसले किसानको जीवन कष्टकर बनाउनुका साथै देशको अर्थतन्त्रमा समेत नकारात्मक असर परिरहेको उनको भनाइ छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै