जनकपुर । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले चौरचन तथा गणेश चतुर्थी पर्वका अवसरमा प्रदेशवासीलाई मलेसियाबाट शुभकामना व्यक्त गरेका छन्।
मुख्यमन्त्री सिंहले मंगलबार सार्वजनिक गरेको शुभकामना सन्देशमा चौरचन पर्वलाई भक्तिभाव, संस्कृतिको गहिरो सम्बन्ध र सांस्कृतिक पहिचानको प्रतीकका रूपमा वर्णन गर्दै यसले एकता, आपसी सद्भाव र पारिवारिक आत्मीयता प्रवर्द्धन गर्ने बताएका छन्।
त्यसैगरी उनले गणेश चतुर्थी पर्वलाई विघ्नहर्ता भगवान् गणेशप्रति आस्था जागृत गर्ने र जीवनमा आउने चुनौतीहरूलाई धैर्य, बुद्धि र सकारात्मक ऊर्जाद्वारा पार गर्न प्रेरणा दिने पर्वका रूपमा चित्रण गरेका छन्।
“यी दुवै पर्वले दिएको शान्ति, सद्भाव, श्रद्धा र समर्पणको सन्देश हाम्रो समाजलाई अझ सबल, समृद्ध र उन्नत बनाउन सधैँ मार्गदर्शक हुनेछन्,” सन्देशमा उल्लेख छ।
मुख्यमन्त्री सिंहले भगवान् चन्द्रदेव र भगवान् गणेशको कृपाले सबैमा स्वास्थ्य, समृद्धि, दीर्घायु, आपसी प्रेम र प्रगतिका उज्याला मार्गहरू प्रशस्त होस् भन्ने कामना पनि गरेका छन्।