वीरगन्ज । वीरगन्जमा हैजाको प्रकोप समुदायस्तरमै फैलिएपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले आज नारायणी अस्पतालको अनुगमन गरेका छन्।
अस्पतालको निरीक्षणका क्रममा उनले उपचाररत बिरामीहरूको स्वास्थ्य अवस्था, अस्पतालले प्रदान गरिरहेको सेवा तथा उपचारमा देखिएका चुनौतीहरूबारे जानकारी लिएका थिए।

मन्त्री पौडेल बिरामीहरूको शय्या नजिक पुगेर उनीहरूको स्वास्थ्य अवस्था र औषधि वितरणबारे चासो राख्दै जानकारी लिएका छन् । एक बिरामीका आफन्तले डाक्टरले तोकेको औषधिको पैसा तिर्नुपरेको गुनासो गर्दा मन्त्री पौडेलले यस विषयमा तत्काल जानकारी लिई समाधान गर्न निर्देशन दिएका छन् । सो क्रममा अस्पतालका एक स्वास्थ्यकर्मीले बिरामीलाई दिइने सलाइन र इन्जेक्सन निःशुल्क हुने तर अन्य औषधिका लागि पैसा लाग्न सक्ने बताएका थिए।

अनुगमनपछि मन्त्री पौडेलले हैजा रोकथाम तथा नियन्त्रणका लागि भइरहेका प्रयासहरूबारे वीरगन्ज महानगरपालिकाका मेयर लगायत अन्य सरोकारवालासँग छलफल गर्ने कार्यक्रम रहेको छ। जिल्ला जनस्वास्थ्य कार्यालय, पर्साका अनुसार, वीरगन्जमा १५१ डिस्चार्ज, ७९ आरडिटी किटबाट हैजा पुष्टि भएको छ । अहिलेसम्म १०३ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।