जनकपुरधाम । भ्रष्टाचार मुद्दामा सर्वोच्च अदालतबाट दोषी ठहर भएपछि नेपाली कांग्रेस, सर्लाहीका जिल्ला सभापति सुरेन्द्र प्रसाद सिंहले पदबाट राजीनामा दिएका छन्।
उनले पार्टी सभापति शेरबहादुर देउवालाई सम्बोधन गर्दै शुक्रबार राजीनामा पत्र बुझाएका हुन्।
२०७८ साल फागुन २९ गतेदेखि जिल्ला सभापतिको जिम्मेवारी सम्हालेका सिंहले सर्वोच्च अदालतको निर्णयलाई सम्मान गर्दै नैतिकताका आधारमा पदबाट राजीनामा दिएको बताएका छन्। यद्यपि, उनले राजीनामा पत्रमा अदालतको फैसलाले आफूमाथि अन्याय भएको दाबी पनि गरेका छन्।
सिंहले आफ्नो राजीनामा पत्रमा भनेका छन्, ‘म माथि लगाइएको मुद्दाको सन्दर्भमा सम्मानित अदालतले निर्णय गरेको अवस्था छ। सम्मानित अदालतले गरेको निर्णय मान्ने मेरो कर्तव्य हो, तर उक्त निर्णयले मलाई अन्याय भएको मेरो ठहर छ।’ उनले व्यक्तिगत रूपमा आफ्नो कानुनी र न्यायिक लडाइँ जारी राख्ने उल्लेख गर्दै, राजनीतिक लडाइँ पनि जारी रहने बताएका छन्।
सिंहको राजीनामाले कांग्रेसभित्र नैतिक दायित्व र कानुनी शासनको पालनाका विषयमा बहस सुरु भएको छ। यो घटनाले भ्रष्टाचारमा दोषी ठहर भएका राजनीतिक व्यक्तिहरूको पदमा बसिरहने प्रवृत्तिमाथि पनि प्रश्न उठाएको छ। सिंहले आफ्नो कानुनी लडाइँबाट न्याय पाउने आशा व्यक्त गर्दै पार्टीको विधान र प्रचलित कानुनको सम्मान गर्दै पद छोड्नुपरेको बताएका छन्।
