वीरगन्ज । पर्सा प्रहरीले १४ लाखभन्दा बढी हुण्डी रकमसहित दुई जनालाई नियन्त्रणमा लिएको छ।
वीरगन्ज महानगरपालिका–२ इदगाहचोकबाट वीरगन्जका संजयकुमार साह र बाराका शनिकुमार ठाकुरलाई प्रहरीले पक्राउ गरेको हो।
विशेष सूचनाका आधारमा गरिएको जाँचमा उनीहरूको मोटरसाइकलको फल्स सिलिङबाट १४ लाख १३ हजार ५ सय नगद फेला परेको पर्सा प्रहरी प्रमुख गौतम मिश्रले जानकारी दिए।
बरामद रकममध्ये १० लाख रुपैयाँ हजार दरका नोट र ४ लाख १३ हजार रुपैयाँ पाँच सय दरका नोट रहेको प्रहरीले जनाएको छ। उनीहरूले रकमको स्रोत खुलाउन नसकेको पनि प्रहरीको भनाइ छ।
साह र ठाकुरसँगै प्रयोग गरिएका दुईवटा मोटरसाइकल पनि प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ परेका दुवैलाई जिल्ला प्रहरी कार्यालय पर्सामा राखी आवश्यक अनुसन्धान भइरहेको छ।