वीरगन्ज । निजी विद्यालय सञ्चालकहरूले संघीय संसदमा पेस भएको विद्यालय शिक्षा सम्बन्धी विधेयक २०८० मा आफ्ना मागहरू सम्बोधन नभएको भन्दै आन्दोलनको घोषणा गरेका छन्।
नेशनल प्याब्सन र प्याब्सनले संयुक्त पत्रकार सम्मेलन गरी भोलिदेखि आन्दोलनका कार्यक्रमहरू सुरु गर्ने जानकारी दिएका छन्।
उनीहरूका अनुसार, भोलि बिहान ११ बजेदेखि १ बजेसम्म माइतीघर मण्डलाबाट नयाँ बानेश्वरसम्म ब्यानरसहित र्याली निकालिनेछ र पुनः माइतीघर मण्डलामा आएर कोणसभा गरिनेछ। त्यसैगरी, असोज ६ गते बिहान ११ बजे देशभरिका स्कुल बसहरूले नगर परिक्रमा गर्ने र काठमाडौंमा चक्रपथमा कालो झण्डा र ब्यानरसहितको र्याली गरिनेछ।
सोही दिन दिउँसो १ बजे माइतीघर मण्डलामा भेला भई शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र संघीय संसदको घेराउ गर्ने कार्यक्रम पनि तय भएको छ। यदि यी कार्यक्रमपछि पनि माग सम्बोधन नभए असोज ८ गतेदेखि निर्णायक आन्दोलनमा जाने चेतावनी उनीहरूले दिएका छन्।
निजी शैक्षिक संस्थाहरूसँग सम्बन्धित केही अव्यवहारिक र अन्यायपूर्ण प्रावधानहरू खारेज गर्नुपर्ने उनीहरूको माग छ। विशेषगरी, ‘पूर्ण छात्रवृत्ति’ भन्ने शब्द हटाउनुपर्ने, विद्यालयमा उत्पादन नहुने पोशाक, स्टेशनरी लगायतका सामग्री उपलब्ध गराउने प्रावधान खारेज गर्नुपर्ने र कम्पनी ऐन अन्तर्गत सञ्चालित विद्यालयहरूलाई ‘गैर नाफामूलक’ बनाउने प्रावधान हटाउनुपर्ने माग उनीहरूले राखेका छन्।
यसका साथै, छात्रवृत्ति वितरणको अधिकार सम्बन्धित विद्यालयलाई नै दिनुपर्ने र उच्च शिक्षा तथा प्राविधिक शिक्षामा सामुदायिक विद्यालयका विद्यार्थीलाई मात्र दिइने विभेदकारी आरक्षण व्यवस्था हटाउनुपर्ने पनि उनीहरूको माग छ।
यसअघि पनि नेपाल सरकार, शिक्षा मन्त्रालय र प्रमुख राजनीतिक दलहरूलाई पटकपटक ध्यानाकर्षण गराउँदै आएको भए पनि मागको सम्बोधन नभएकोले आन्दोलनमा उत्रनु परेको प्याब्सन र एनप्याब्सनले बताएका छन्। उनीहरूले विद्यमान विधेयक जस्ताको त्यस्तै पारित भएमा शिक्षा नीतिमा सरकारको घोषित लक्ष्यहरू गम्भीर रूपमा प्रभावित हुने चेतावनी समेत दिएका छन्।