ट्रेन्डिङ

दुर्गममा काम गर्ने कर्मचारीलाई सुगममा ल्याउँछु : मन्त्री न्यौपाने

वीरगन्ज । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले लामो समयदेखि दुर्गममा रहेर काम गरिरहेका कर्मचारीलाई सुगममा ल्याउने र सधैँ सुगममै बस्नेलाई दुर्गममा पठाउने गरी काम भइरहेको बताएकी छिन्।

मन्त्रालय सम्हालेको एक महिना पुगेको अवसरमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री न्यौपानेले यस्तो जानकारी दिएकी हुन्।

उनले लामो समयदेखि सुगममा बसेर दुर्गममा जान नमान्ने कर्मचारीहरूको नाम सङ्कलन भइरहेको र उनीहरूको नाम सार्वजनिक गर्ने चेतावनीसमेत दिइन्। ‘सरुवामा कोही सधैँ दुर्गममा र कोही सधैँ सुगममा मात्रै बसिरहने अवस्था छ,’ उनले भनिन्, ‘धेरै वर्षदेखि उपत्यका नछोडेका कर्मचारीलाई अन्यत्र पठाइनेछ र लामो समय दुर्गममा बसेकाहरूलाई न्याय दिइनेछ।’

मन्त्री न्यौपानेले देशभरका धेरै स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतहरू निमित्तको भरमा चलिरहेको भन्दै असन्तुष्टि व्यक्त गरिन्। उनले भदौ महिनाभित्र सबै ठाउँमा प्रमुख प्रशासकीय अधिकृतलाई जिम्मेवारी दिने गरी काम भइरहेको बताइन्। ‘निमित्तले प्रमुख प्रशासकीय अधिकृत चलाएको अवस्थालाई शून्यमा झार्नुपर्छ,’ उनले भनिन्, ‘यसलाई कडाइका साथ लागू गर्न हामीले आर्थिक अधिकार कटौती गर्नेसम्मका कदम चालेका छौं ।’

उनले राष्ट्रसेवक कर्मचारीहरू काम नगरी तलब लिने अवस्था आउन नहुने भन्दै सबै कर्मचारीलाई सेवामा समर्पित हुन आग्रह गरिन्।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै