वीरगन्ज । भूमि समस्या समाधान आयोग पर्साले ठोरी गाउँपालिकाका भूमिहीन र अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरणको प्रक्रिया सुरु गरेको छ।
ठोरी गाउँपालिका कार्यालयमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा आयोगका अध्यक्ष तबरेज अहमदले जग्गा नापजाँचसम्बन्धी विभिन्न पक्षबारे जानकारी दिए। उनले क्लब, मन्दिर र गुम्बा जस्ता गैरव्यक्तिगत संस्थालाई भने लालपुर्जा नदिइने स्पष्ट पारे।
अध्यक्ष अहमदका अनुसार, जग्गाको अन्तिम क्षेत्रफल फिल्डमा भएको नापअनुसार नै कायम गरिनेछ र यसअघि दिइएको निस्साको विवरण अन्तिम नहुने भएकाले आवश्यक परे संशोधन गरिनेछ। यस्तै, हुलाकी सडकको वरपर रहेका जग्गाको हकमा सडकको मापदण्डअनुसार जग्गा कटाएर मात्रै बाँकी क्षेत्रफलको धनीपुर्जा बनाइनेछ।
राजस्वको सवालमा १७ सय वर्गमिटरसम्मको कृषि जग्गामा मूल्यांकनको ५ प्रतिशत र बसोबासी जग्गामा १० प्रतिशत राजस्व लाग्ने जानकारी उनले दिए । यसै सन्दर्भमा, केन्द्रीय भूमि आयोगले जग्गा दर्ता गर्न छुटेकाहरूका लागि ३५ दिने अन्तिम सूचना जारी गरेको छ। निस्सा प्राप्त गरेर बिक्री भएका जग्गा, छुटेका तथा अंशबन्डा हुन बाँकी जग्गाहरूको हकमा नयाँ प्रक्रिया थाल्न पनि अध्यक्ष अहमदले आग्रह गरे ।
कार्यक्रममा ठोरी गाउँपालिकाका अध्यक्ष लाल बहादुर श्रेष्ठले अघिल्लो सरकारले अधुरो छाडेको कामलाई पूरा गर्ने जिम्मेवारी आफ्नो काँधमा आएको बताए । जनताको साथ र सहयोग भए यसपटक जसरी पनि लालपुर्जा वितरण गरेरै छाड्ने प्रतिबद्धता उनले व्यक्त गरे ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष गोकुली कुमारी रेग्मी, पाँचै वटा वडाका वडाध्यक्षहरू, कार्यपालिका सदस्यहरू र सयौँको संख्यामा स्थानीय बासिन्दाको सहभागिता रहेको थियो।