ट्रेन्डिङ

मधेशमा शान्ति, सुशासन र सुदृढ सुरक्षा व्यवस्थामा प्रधानमन्त्री ओलीको जोड

जनकपुरधाम । प्रधानमन्त्री केपी शर्मा ओलीले मधेश प्रदेशमा सुशासन कायम गर्न र सुरक्षा व्यवस्थालाई सुदृढ बनाउन निर्देशन दिएका छन् ।

आज जनकपुरमा मधेश प्रदेश प्रहरी कार्यालयको नवनिर्मित भवन उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

प्रधानमन्त्री ओलीले प्रहरीलाई ‘जनतालाई प्रारम्भिक सेवा र न्याय दिने’ संस्थाको रूपमा विकास गर्नुपर्ने बताए । उनले सुशासनका दुई पाटा भ्रष्टाचार नियन्त्रण र छिटोछरितो सेवा प्रवाहमा सरकार कटिबद्ध रहेको प्रतिबद्धता व्यक्त गरे । मधेशमा निर्दोषलाई फसाउने र दोषीलाई उम्काउने प्रवृत्ति तत्काल अन्त्य गर्न पनि उनले प्रहरीलाई निर्देशन दिए ।

मधेशमा लागूऔषधको समस्या गम्भीर बन्दै गएकोमा चिन्ता व्यक्त गर्दै प्रधानमन्त्रीले खुला सीमानाको नाजायज फाइदा उठाउनेलाई रोक्नुपर्नेमा जोड दिए । उनले राजस्व छली हुने र लागूऔषधको कारोबार बढ्ने समस्यालाई कडाइका साथ नियन्त्रण गर्न सुरक्षाकर्मीलाई निर्देशन दिए ।

यस क्रममा प्रधानमन्त्रीले २१ करोड रुपैयाँ लागतमा सम्पन्न भएको मधेश प्रदेश प्रहरी कार्यालयको भवन निर्माणमा सहयोग पुर्‍याएकोमा मधेश प्रदेश सरकारलाई धन्यवाद पनि दिएका थिए ।

आफ्नो सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले हालै जनकपुरमा नेपाल पत्रकार महासंघ र बार एसोसिएसनबीच भएको विवादलाई लक्षित गर्दै कानुनी बाटोबाट समस्या समाधान गर्नुपर्नेमा जोड दिए । ‘कानुन संवादबाट हुने कुरा जोर–जबरजस्ती गर्न खोज्ने काम हुनु हुँदैन,’ उनले भने, ‘यस्ता गतिविधि फेरि नदोहोर्‍याउनु होला।’ कार्यक्रमको क्रममा पत्रकार महासंघ मधेश प्रदेशले जग्गा विवादमा अधिवक्ताहरूको समूहले आफ्ना पत्रकारमाथि आक्रमण गरेको भन्दै प्रधानमन्त्री ओलीलाई ज्ञापन पत्र बुझाएको थियो ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै