जनकपुरधाम । मधेश प्रदेशमा बढ्दो पानीको समस्या समाधानका लागि भारतले चासो देखाएको छ ।
यसै सन्दर्भमा भारतको जल शक्ति मन्त्रालयका प्राविधिक विज्ञहरूको एक उच्चस्तरीय टोलीले आज मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहसँग भेटघाट गरेको छ।
मुख्यमन्त्री कार्यालयमा भएको भेटमा भारतीय टोलीले प्रदेशको भूगर्भीय पानी (भू–जल) को अवस्थाबारे विस्तृत अनुसन्धान गर्ने र पानीको अभावलाई दीर्घकालीन रूपमा समाधान गर्ने उपायहरूमाथि सुझाव दिने प्रस्ताव राखेको छ। भारतीय टोलीको यो कदमले दुई छिमेकी प्रदेशहरूबीचको जलसम्बन्धी सहकार्यलाई थप बलियो बनाउने विश्वास गरिएको छ।
भारतीय टोलीले मधेश प्रदेशका विभिन्न जिल्लामा पुगेर भू–जलको उपलब्धता, यसको गुणस्तर र त्यसको अत्यधिक दोहनका कारण उत्पन्न समस्याहरूको अध्ययन गर्नेछ। यस अनुसन्धानले प्रदेशमा जल संरक्षण, वर्षाको पानी सङ्कलन र दिगो पानी व्यवस्थापनका लागि वैज्ञानिक आधार तयार गर्नेछ। भारतीय टोलीका सदस्यहरूमा जल शक्ति मन्त्रालयका प्राविधिक विज्ञहरू आशिष पाण्डे, जगदम्बा प्रसाद र प्रशान्त राय छन्।
मुख्यमन्त्री सतिश कुमार सिंहले भारतीय टोलीको यो पहलको स्वागत गर्दै यस अनुसन्धानबाट प्राप्त हुने सुझावहरूले प्रदेशमा दिगो पानी व्यवस्थापन र भू–जल संरक्षणमा महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे। उनले पानीको समस्या समाधानका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको र यस किसिमको अन्तर्राष्ट्रिय सहकार्यलाई सधैँ प्रोत्साहित गर्ने बताए।
मधेश प्रदेशमा पछिल्ला वर्षहरूमा पानीको समस्या गम्भीर बन्दै गएको छ। अत्यधिक जनसङ्ख्या, कृषिमा अत्यधिक भू–जलको प्रयोग र जलवायु परिवर्तनका कारण वर्षाको अनियमितताले गर्दा भू–जलको सतह निरन्तर घट्दै गएको छ। यसले गर्दा खानेपानी र सिँचाइ दुवैमा ठूलो चुनौती देखिएको छ।
भारतीय टोलीको यो भ्रमणले मधेश प्रदेशको भू–जल अवस्थाबारे वैज्ञानिक अध्ययन गर्ने र त्यसको आधारमा ठोस कार्ययोजना बनाउन मद्दत पुग्ने अपेक्षा गरिएको छ। यो पहल नेपाल र भारतबीचको जलस्रोत सहकार्यको एक नयाँ आयाम बन्न सक्नेछ।