जनकपुरधाम। मधेश प्रदेश सरकारका प्रवक्ता तथा गृह, सञ्चार एवं कानुनमन्त्री राजकुमार लेखीले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न मधेश भ्रमणलाई लक्षित गर्दै सुरक्षाको भरपर्दो प्रबन्ध मिलाउन मातहतका सबै निकायलाई निर्देशन दिएका छन्।
प्रधानमन्त्रीको भ्रमणको सुरक्षा तयारीबारे छलफल गर्न गृह मन्त्रालयमा बसेको प्रदेश सुरक्षा समितिको बैठकमा गृहमन्त्री लेखीले यस्तो निर्देशन दिएका हुन्। नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओली श्रावण ३० गते जनकपुर आउने कार्यक्रम छ। उनी यहाँ नवर्निर्मित मधेश प्रदेश प्रहरी भवनको उद्घाटन गर्ने कार्यक्रममा सहभागी हुनेछन्।
बैठकमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्का प्रमुख सचिव मदन भुजेल, गृह, सञ्चार तथा कानुन मन्त्रालयका प्रदेश सचिव विमल प्रसाद बराल, नेपाली सेनाका पृतनापति कृष्ण बहादुर जिसी, मधेश प्रहरी प्रमुख उमा प्रसाद चतुर्वेदी, सशस्त्र प्रहरीका प्रदेश प्रमुख कृष्ण ढकाल, र राष्ट्रिय अनुसन्धान विभागका मधेश प्रदेश प्रमुख माधव प्रसाद तिमिल्सिना सहभागी थिए।
यसका साथै धनुषाका प्रमुख जिल्ला अधिकारी शंकरहरी आचार्य, महोत्तरीका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद रिजाललगायत जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरू पनि बैठकमा उपस्थित रहेको उपसचिव ओम प्रकाश महतोले जानकारी दिए।