वीरगन्ज । नागरिक उन्मुक्ति पार्टी (नाउपा) को विवादमा निर्वाचन आयोगले अध्यक्षमा रञ्जिता श्रेष्ठलाई नै वैधानिकता दिएको छ।
पार्टीको एक समूहले राष्ट्रिय भेला गरी लालवीर चौधरीलाई अध्यक्ष घोषणा गरेपछि उठेको विवादमा आयोगले हिजो राति यस्तो निर्णय गरेको हो।
निर्वाचन आयोगको स्रोतका अनुसार, लालवीर चौधरीले आफू अध्यक्ष भएको दाबी गर्दै अद्यावधिकका लागि आयोगमा निवेदन दिएका थिए। तर, आयोगले राजनीतिक दलसम्बन्धी ऐन र नाउपाको विधानलाई अध्ययन गर्दा चौधरी पक्षले गरेको राष्ट्रिय भेला वैधानिक नभएको निष्कर्ष निकालेको छ।
आयोगले दुवै पक्षलाई आफू अध्यक्ष भएको दाबीसहितको लिखित जवाफ पेस गर्न पत्र काटेको थियो। दुवै पक्षबाट प्राप्त जवाफ, पार्टीको विधान, र प्रचलित कानुनको आधारमा आयोगले श्रेष्ठलाई नै पार्टीको वैधानिक अध्यक्ष मानेको हो। यो निर्णयसँगै नाउपाभित्र देखिएको नेतृत्व विवादले एउटा अस्थायी विराम पाएको छ।