सप्तरी । सप्तरीको राजगढ गाउँपालिका–२ मा मंगलबार प्रहरीको गोली लागी मृत्यु भएका लालु यादवको घटनापछि सुरु भएको आन्दोलन प्रहरी निरीक्षक विरेन्द्र यादवलाई पदमुक्त गर्ने सहमति भएपछि स्थगित गरिएको छ।
बिहीबार बसेको सर्वपक्षीय र सर्वदलीय बैठकले घटनाको निष्पक्ष छानबिन नहुञ्जेलसम्म गोली चलाउने प्रहरी निरीक्षक यादवलाई पदमुक्त गर्न सम्बन्धित निकायमा सिफारिस गर्ने निर्णय गरेको हो।
सहमति भएलगत्तै पीडित पक्षले जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालय अगाडि जारी आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता लिएको छ। आन्दोलनका क्रममा प्रदर्शनकारीले टायर बालेर सडक अवरुद्ध गरेका थिए।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी जितेन्द्र कुमार बस्नेतले आन्दोलन स्थगित भएको पुष्टि गरे।
प्रहरीको गोली लागेर निधन भएका लालु यादव स्थानीय खुबलाल जगरनाथ शक्ति आधारभूत विद्यालयका व्यवस्थापन समिति अध्यक्ष समेत थिए। उनको निधनप्रति विभिन्न पक्षले गहिरो दुःख व्यक्त गरेका छन्।
बैठकले घटनाको उच्चस्तरीय छानबिन समिति गठनका लागि सिफारिस गर्ने, र मृतकका परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था छानबिन समितिको प्रतिवेदन अनुसार गरिने निर्णयसमेत गरेको छ।
आज भएको सहमतिपछि मृतक यादवको शव परिवारले बुझ्ने र हिन्दू परम्परा अनुसार अन्तिम संस्कार गर्ने तयारी भइरहेको मृतकका दाजु मनोज यादवले जानकारी दिए।
उक्त घटनाको विरोधमा सप्तरी उद्योग वाणिज्य संघले बिहीबार राजविराज बन्दको आह्वान गरेको थियो। बन्दका कारण सप्तरी सदरमुकाम राजविराजका सबै पसल तथा बजार पूर्ण रूपमा बन्द रहेका थिए।