ट्रेन्डिङ

यो ‘काण्डै काण्ड’को सरकार हो, रुपन्देहीको उपनिर्वाचन अस्तित्वको लडाइँ : संघीय लोकतान्त्रिक मोर्चा

वीरगन्ज । संघीय लोकतान्त्रिक मोर्चाले रूपन्देहीको सियारीबाट ‘जनजागरण अभियान’ सुरु गरेको छ।

आज आयोजित कार्यक्रममा मोर्चाका शीर्ष नेताहरूले वर्तमान सरकारलाई ‘अप्राकृतिक गठबन्धन’ भन्दै त्यसको तीव्र आलोचना गरेका छन्। साथै, उनीहरूले आसन्न उपनिर्वाचनलाई आफ्नो राजनीतिक अस्तित्वको लडाइँका रूपमा व्याख्या गरेका छन्।

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभिन्न दलका नेताहरूले वर्तमान राजनीतिक अवस्था, उत्पीडित जनताका अधिकार र आसन्न निर्वाचनमाथि आफ्ना धारणा राखेका थिए।

कार्यक्रममा बोल्दै राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले अहिलेको सत्ता गठबन्धनलाई देशलाई लुट्न र आफ्ना ‘पाप’ लुकाउन बनाइएको ‘अप्राकृतिक’ गठबन्धनको संज्ञा दिए। उनले भने, ‘यो काण्डै काण्डवाला सरकार हो, यसले देश र जनताको हितमा काम गर्न सक्दैन।’ जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीले देश हाम्रो भए पनि राज्यसत्ता आफ्नो हुन नसकेको भन्दै आक्रोश व्यक्त गरे। उनले चुरे वन विनाश गर्ने कानुन बनाएमा ठूलो विद्रोह हुने चेतावनी दिँदै चुरेको विनाश सभ्यताको विनाश हो भनेर बताए।

मोर्चाका नेताहरूले रूपन्देही ३ मा हुन लागेको उपनिर्वाचनलाई सामान्य चुनावका रूपमा नहेर्न आग्रह गरे। नेता महतोले यो चुनाव ०८४ को निर्वाचनमा आफूहरू ‘सकिने कि बाँच्ने’ भन्ने परीक्षण रहेको बताए। उनले उत्पीडित र विभेदमा परेका जनता सधैँ गुलाम रहने कि मालिक बन्ने भन्ने परीक्षा यो निर्वाचनले लिने बताए।

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले पनि यसपालिको उपनिर्वाचन खेलाची नभएको भन्दै जसरी पनि जित्नका लागि जोड दिए। उनले मधेशीहरूले थारुलाई विश्वास गरेर गुन लगाएको भन्दै त्यसको सम्मान गर्नुपर्नेमा जोड दिए।

कार्यक्रममा बोल्दै तमलोपाका अध्यक्ष वृषेश चन्द्र लालले यथाशीघ्र लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग माग गरे। त्यस्तै, जसपा नेपालका महासचिव रामकुमार शर्माले मधेश जनविद्रोहको कारण भुल्न नहुने भन्दै सबै उत्पीडित समुदाय एक नभई मुक्ति सम्भव नहुने बताए। लोसपाका नेता तथा प्रदेश मन्त्री सन्तोष पाण्डेले मोर्चाको साझा उम्मेदवारलाई जिताएरै छाड्ने प्रतिबद्धता जनाए।

संघीय लोकतान्त्रिक मोर्चाले देशभर आठ स्थानमा ‘जनजागरण अभियान’ सञ्चालन गर्ने घोषणा गरेको छ। यस कार्यक्रमको माध्यमबाट मोर्चाले आफ्ना एजेन्डालाई देशभरका जनतामाझ पुर्‍याउने लक्ष्य लिएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै