सप्तरी । सप्तरीको सुरुङ्गा नगरपालिका–८ मलहन टोलमा कान्तलाल चौधरीलाई गोली हानी हत्या गरेका डाँका समूहका नौ जना अभियुक्तलाई प्रहरीले सार्वजनिक गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीले पत्रकार सम्मेलन गर्दै घटनामा संलग्न रहेको आरोपमा सप्तरी, सिरहा र उदयपुरका व्यक्तिहरूलाई पक्राउ गरी सार्वजनिक गरेको हो ।
गत जेठ २३ गते राति लुटपाटका क्रममा गोली हानी चौधरीको हत्या भएको घटनापछि करिब ४८ दिनको अनुसन्धानपछि उनीहरूलाई नियन्त्रणमा लिइएको सप्तरीका एसपी गौतम कुमार केसीले जानकारी दिए ।
पक्राउ पर्नेमा सुरुङ्गा–८ का राजेश कुमार मरिक, संजय मरिक, बोदेबर्साइन–२ का दिपेन मरिक, खडक–११ का हरिकिसुन मरिक, शम्भुनाथ–८ का दिपक मरिक, सुरुङ्गा–७ का राजु कुमार विक, उदयपुर बेलका–१ का चन्दर मरिक, सिरहा लहान–६ का महेन्द्र गोड्से र लहान–८ का उमेश साह सोनार रहेका छन् ।
प्रहरीका अनुसार अभियुक्तहरू लुटपाट गर्ने, हत्या गर्ने मात्रै नभई लुटिएका गरगहना बिक्री तथा गाल्ने सम्मका अपराधमा संलग्न छन् ।
अनुसन्धानका क्रममा लुटिएका सुनचाँदीका गरगहना, नगद तथा घटनामा प्रयोग गरिएको हतियारसमेत बरामद गरिएको प्रहरीले जनाएको छ ।
मृतक चौधरीले डाँकाहरूसँग प्रतिकार गर्दै “तिमीहरूलाई चिनेको छु” भनेपछि समूहले तत्काल गोली प्रहार गरी हत्या गरेको अनुसन्धानबाट खुलेको एसपी केसीले बताए ।
पत्रकार सम्मेलनमा मधेश प्रदेश प्रहरी प्रमुख डिआइजी उमा प्रसाद चतुर्वेदीले उपत्यकाबाहेक सातै प्रदेशमध्ये मधेश प्रदेशमा सबैभन्दा बढी हत्याका घटना भएको बताउँदै पछिल्ला दिनमा आपराधिक गतिविधि बढेको प्रति चिन्ता व्यक्त गरे ।
अभियुक्तहरूको तस्बिर सार्वजनिक नगर्न केन्द्रबाट परिपत्र आएकाले फोटो भने सार्वजनिक नगरिएको प्रहरीको भनाइ छ ।