वीरगन्ज । दक्षिण कोरियामा रोजगारीका लागि जाने इच्छुक नेपाली युवाहरूका लागि खुसीको खबर१ रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरियन भाषा परीक्षाका लागि आवेदन खुलेको छ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गतको ईपीएस कोरिया शाखाले प्रथम चरणको भाषा परीक्षाका लागि आवेदन माग गरेको हो। यस वर्ष उत्पादनमूलक र कृषि तथा पशुपालन क्षेत्रमा गरी कुल ५,३०० जनाको कोटा तोकिएको छ। जसमध्ये, ३,५०० जना उत्पादनमूलक क्षेत्रका लागि र १,८०० जना कृषि तथा पशुपालन क्षेत्रका लागि छनोट गरिनेछ। एक व्यक्तिले कुनै एक क्षेत्रमा मात्रै आवेदन दिन पाउनेछन्।
१८ वर्ष पूरा भई ३९ वर्ष ननाघेका नेपाली नागरिकले आवेदन दिन सक्छन्। फौजदारी अभियोगमा सजाय नपाएको, कोरियामा गैरकानुनी रूपमा बसोबास गरी फिर्ता नगरिएको र नेपाल सरकारबाट विदेश जान रोक नलगाइएको हुनुपर्छ। साउन २६ गतेदेखि ३१ गतेसम्म अनलाइन फारम भर्न सकिनेछ।
भाषा परीक्षा उत्तीर्ण गर्ने परीक्षार्थीहरूले मात्र दोस्रो चरणको स्किल टेष्ट र कम्पिटेन्सी टेष्टमा सहभागी हुन पाउनेछन्। त्यसपछि मात्रै उनीहरू रोजगार आवेदन फारम भर्न योग्य हुनेछन्। परीक्षा काठमाडौँमा सञ्चालन हुनेछ।