रौतहट । रौतहटको ईशनाथ नगरपालिका–२ मा रहेको बनाना रिसोर्टमा आज बिहान करिब पौने ४ बजे भीषण आगलागी हुँदा ठूलो क्षति भएको छ। आगलागीबाट रिसोर्टका सम्पूर्ण सरसामान जलेर नष्ट भएका छन्।
रिसोर्टका सञ्चालक राकेश गुप्ताका अनुसार, आगलागीका कारण करिब ४० लाख रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ। यसमध्ये १५ लाख रुपैयाँ बराबरका कृषि उपकरण, खाद्यान्न, फर्निचर, फ्रिज, र अन्य इलेक्ट्रोनिक सामग्री पूर्ण रूपमा जलेका छन्।
यो रिसोर्ट नेपाल सरकार र जौहरीमाई कृषि तथा सहकारी संस्थाको साझेदारीमा निर्माण भएको थियो, जसमा आधा लगानी सरकारको र आधा निजी रहेको थियो।
आगलागीको खबर पाएलगत्तै सशस्त्र प्रहरी बलको टोली, ईशनाथ प्रहरी चौकी, नगरपालिकाको दमकल र स्थानीयवासीहरूको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो।
जिल्ला प्रहरी प्रमुख एसपी नेत्रमणि गिरीले घटनाको पुष्टि गर्दै आगलागीको कारणबारे अनुसन्धान भइरहेको बताएका छन्। प्रारम्भिक अनुसन्धानअनुसार, विद्युत् सर्ट भई आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ।
सञ्चालनमा आएदेखि नै यो रिसोर्ट नेपाली तथा भारतीय ग्राहकहरूका लागि आकर्षक गन्तव्य बनेको थियो।