ट्रेन्डिङ

विपक्षी दलद्वारा सुख्खा संकट समाधान गर्न मुख्यमन्त्रीलाई १० बुँदे ध्यानाकर्षण

जनकपुरधाम। मधेश प्रदेशमा लामो समयसम्म वर्षा नहुँदा देखिएको सुख्खा संकट र किसानका समस्याप्रति प्रदेश सरकार उदासीन रहेको भन्दै पाँच विपक्षी दलले मुख्यमन्त्रीलाई ध्यानाकर्षण गराएका छन्।

जनता समाजवादी पार्टी (जसपा) नेपाल, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राप्रपा र नेपाल संघीय समाजवादी पार्टीका नेताहरूले संयुक्त रूपमा मुख्यमन्त्री सतिशकुमार सिंहलाई १० बुँदे ध्यानाकर्षण पत्र बुझाउँदै तत्काल समस्या समाधान गर्न माग गरेका हुन्।

उनीहरूले ध्यानाकर्षण पत्रमा किसानले खेती गर्न नपाएको, मल र खाद्यको चरम अभाव भएको तथा पिउने पानीको सतह घटेर खानेपानीको समस्या विकराल बनेको उल्लेख गरेका छन्। सरकारले तराई–मधेशलाई सुख्खा संकटग्रस्त क्षेत्र घोषणा गरे पनि राहतका कार्यक्रमहरू केवल आश्वासनमा मात्र सीमित रहेको आरोप उनीहरूको छ।

विपक्षी दलहरूले सरकारसमक्ष तत्काल सिँचाइको व्यवस्था गर्न, किसानलाई कृषि ऋणमा छुट दिन, मलको न्यायोचित वितरण गर्न, खानेपानीको समस्या समाधान गर्न र दीर्घकालीन जल संकटबाट बचाउन चुरे क्षेत्रको संरक्षण गर्न माग गरेका छन्।

साथै, उनीहरूले किसानका लागि बोरिङ जडानको प्रक्रिया सहज बनाउन र नदीनालाको जीर्णोद्धार गर्न पनि आग्रह गरेका छन्। सरकारले यी मागहरूलाई गम्भीरतापूर्वक नलिए जनतालाई राहत पुर्‍याउन नसके आन्दोलनमा उत्रिने चेतावनीसमेत उनीहरूले दिएका छन्।

जसपा नेपालका नेता सरोज कुमार यादवको अगुवाइमा नेकपा माओवादी केन्द्रका नेता युवराज भट्टराई, नेकपा एकीकृत समाजवादीका नेता कनिष पटेल, राप्रपाका नेता कञ्चन विच्छा र नेपाल संघीय समाजवादी पार्टीका नेता विमला अन्सारी तरन्नुम लगायतको टोलीले मुख्यमन्त्री कार्यालयमा ध्यानाकर्षण पत्र बुझाएको हो।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै