कलैया । बारा जिल्लाको सदरमुकाम कलैयामा आज संघीय गणतान्त्रिक गठबन्धनले विशाल शक्ति प्रदर्शन गरेको छ ।
नेपाल संघीय समाजवादी पार्टीका जिल्ला अध्यक्ष अनवर अन्सारीको अध्यक्षतामा सम्पन्न यस कार्यक्रममा गठबन्धनका संयोजक तथा पूर्व गृृह राज्यमन्त्री मोहम्मद रिजवान अन्सारी, नेपाल जनजागृति पार्टीका अध्यक्ष धुपलाल निषाद, बहुजन एकता पार्टीका अध्यक्ष हरिनन्दन अम्बेडकर, नेपाल सद्भावना पार्टीका अध्यक्ष रामकुमार महतो लगायत पाँच दलका शीर्ष नेताहरू, केन्द्रीय सदस्यहरू र हजारौं जनसमुदायको उपस्थिति थियो।
कार्यक्रमको सुरुवात मधेश आन्दोलनका अमर शहीद हिफाजत अन्सारीकी आमा बेगन खातुन र शेख अशरफकी धर्मपत्नी शोभा राजवंशीलाई सम्मान गर्दै गरिएको थियो। तर, यो सम्मानको क्षण छिट्टै आँसुमा परिणत भयो जब शोभा राजवंशीले भक्कानिँदै भनिन्, ‘हामीले आफ्ना श्रीमान गुमायौं, सपना गुमायौं। हामीले सोचेका थियौं, हाम्रो बलिदानले केही बदलिन्छ। तर यिनीहरू (नेताहरू) त सत्तामा पुगेर हामीलाई त के, आफन्तलाई पनि बिर्सिए। मधेशी जनताको सपना बेचेर कुर्सी किन्न पुगे।’ उनको आँखामा टिलपिल आँसु र स्वरमा भरिएको पीडाले पूरै सभा भावविह्वल बन्यो, जसले उपस्थित नागरिकका आँखामा पनि आँसु झल्झलाएको थियो।
कलैया नगर परिक्रमा गरेको भव्य र्यालीमा सहभागी हजारौं जनताले बुलन्द आवाजमा आफ्ना मागहरू दोहोर्याए। ‘समग्र मधेश एक प्रदेश’ ‘भ्रष्टाचारको अन्त गर,’ ‘शोषणमुक्त समाजको निर्माण गर,’ ‘पूर्ण समानुपातिक निर्वाचन प्रणाली कायम गर,’ ‘उर्दु विश्वविद्यालय स्थापना गर,’ ‘निषाद तथा ओबिसी आयोग गठन गर,’ ‘मदरसा शिक्षा विधेयक पारित गर,’ र ‘मधेशी तथा उत्पीडितहरूको सेनामा सामूहिक प्रवेश सुनिश्चित गर’ जस्ता नाराहरू लगाएर उनीहरूले सदियौंदेखि दबिएको, चिच्याउन खोजिरहेको, तर सुनुवाइ नपाएको आवाजलाई सशक्त रूपमा प्रस्तुत गरे।
गठबन्धनका संयोजक तथा नेपाल संघीय समाजवादी पार्टीका केन्द्रीय अध्यक्ष एवं पूर्व गृहराज्यमन्त्री मोहम्मद रिजवान अन्सारीले यो आन्दोलन अब नरोकिने घोषणा गरे। उनले भने, ‘यो उत्पीडित जनताको क्रान्ति हो। हामी अब न झुक्छौं, न बिक्छौं। हामीले मधेश र नेपालका शोषित जनताको राज्यसत्ता स्थापना गरेरै छाड्नेछौं। २०८४ को निर्वाचन हाम्रो परीक्षण मात्र होइन, हाम्रो विजयको सुरुवात हुनेछ।’ उनले भ्रष्टाचार, बेइमानी र विभेदको विरुद्ध सम्पूर्ण उत्पीडित समुदायलाई एकीकृत संघर्षमा होमिन आह्वान गरे।
बहुजन एकता पार्टीका अध्यक्ष हरिनन्दन अम्बेडकरले जातीय, लैङ्गिक, धार्मिक वा क्षेत्रीय विभेद रहेसम्म स्थिरता र समृद्धिको सपना अधुरो रहने बताउँदै संविधान संशोधन गरेर मात्र न्याय सम्भव हुनेमा जोड दिए। नेपाल सद्भावना पार्टीका अध्यक्ष रामकुमार महतोले गजेन्द्र नारायण सिंहले सुरु गरेको आन्दोलनलाई आफूहरूले बोकेको स्मरण गर्दै, जबसम्म धोकेबाज नेताहरू राजनीतिक रूपमा समाप्त हुँदैनन्, मधेशी जनताको मुक्तिको सपना अधुरो नै रहने बताए। नेपाल जनजागृति पार्टीका अध्यक्ष धुपलाल निषादले निषाद समुदायको निरन्तर उपेक्षा र संविधानमा पहिचानको अभावको विरुद्ध आवाज उठाउँदै निषाद आयोग गठन र जल, जंगल, जमिनमा अधिकार सुनिश्चित गर्न माग गरे।