वीरगन्ज । गत आर्थिक वर्षमा वीरगन्ज नाका हुँदै ६८ हजार ७४३ वटा विभिन्न प्रकारका सवारीसाधन नेपाल भित्रिएका छन्।
वीरगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेका अनुसार, इन्धनबाट चल्ने अनएसेम्ब्ल्ड मोटरसाइकलदेखि क्रेन लहरीसम्मका यी सवारीसाधनको आयातबाट सरकारले ठूलो मात्रामा राजस्व सङ्कलन गरेको छ। सवारीसाधनको आयातबाट वीरगञ्ज भन्सार कार्यालयले गत आर्थिक वर्षमा दोस्रो धेरै राजस्व सङ्कलन गरेको छ। यस अवधिमा इन्धनबाट चल्ने सवारीसाधनबाट मात्रै १७ अर्ब ३१ करोड रुपैयाँ राजस्व सङ्कलन भएको छ।
गत आर्थिक वर्षमा ६ अर्ब ६० करोड रुपैयाँ मूल्यका ५० हजार २९१ वटा अनएसेम्ब्ल्ड मोटरसाइकल आयात भएका थिए, जसबाट ६ अर्ब ३१ करोड रुपैयाँ राजस्व सङ्कलन भयो। यसैगरी, २ अर्ब ९४ करोड रुपैयाँ मूल्यका १ हजार ४५४ वटा अन्य बस तथा ट्रकका चेसिस भित्रिएका छन्। इन्धनबाट चल्ने जीप, कार र भ्यानतर्फ २ अर्ब १ करोड रुपैयाँ मूल्यका ९१२ वटा आयात भएका छन्।
ट्र्याक्टर तथा ट्रिलरतर्फ गत आर्थिक वर्षमा १ अर्ब ३७ करोड रुपैयाँ मूल्यका ५ हजार ७३५ वटा आयात भएका थिए। सोही अवधिमा १ अर्ब ११ करोड रुपैयाँ मूल्यका ४१७ वटा इन्धनबाट चल्ने बस, ७१ करोड रुपैयाँका १३९ वटा कङ्क्रिट मिश्रण लहरी र ७४ करोड रुपैयाँका ३१२ वटा ट्रक तथा मिनी ट्रक वीरगन्ज नाकाबाट भित्रिएका छन्। यसका साथै, ४३ करोड ३१ लाख रुपैयाँ मूल्यका ४ हजार ६४६ वटा मोटरसाइकल पनि आयात भएका थिए।
विद्युतीय सवारीसाधनको आयात पनि उल्लेख्य रहेको छ। वीरगन्ज नाका हुँदै गत आर्थिक वर्षमा १ अर्ब ६४ करोड रुपैयाँ मूल्यका २ हजार ३३७ वटा साना तथा ठूला विद्युतीय सवारीसाधन आयात भएका थिए। यी विद्युतीय सवारीसाधनबाट वीरगन्ज भन्सारले १ अर्ब ८० करोड ४५ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको थियो।