ट्रेन्डिङ

देशभर मनसुनी प्रभाव, गण्डकीका क्षेत्रमा भारी वर्षाको सम्भावना, अन्य प्रदेशको अवस्था कस्तो ?

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव कायम रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेकाले मौसममा व्यापक परिवर्तन देखिएको हो।

यसको प्रभावस्वरूप अहिले बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदलीको अवस्था रहेको महाशाखाले जनाएको छ।

कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ।

महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्य बदली रहनेछ।

सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी भूभागका धेरै स्थानहरूमा तथा तराई भूभागका केही स्थानहरूमा चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ।

आज रातिको समयमा देशको पहाडी भूभागमा सामान्य बदली रहनेछ भने तराई भूभागमा आंशिक बदली रहने पूर्वानुमान गरिएको छ।

पहाडी क्षेत्रका थोरै स्थानहरूमा तथा तराईका एक–दुई स्थानमा चट्याङसहित मध्यम वर्षा हुन सक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।

विशेषगरी गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेकाले त्यहाँ आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

यसैबीच, जलवायुजन्य सम्भावित जोखिमलाई ध्यानमा राखी नदी किनार, भू–स्खलन सम्भावित क्षेत्र र पहाडी बाटोमा यात्रा गर्दा आवश्यक सावधानी अपनाउन विज्ञहरूले सुझाव दिएका छन्।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै