वीरगन्ज । पर्साको पटेर्वा सुगौली गाउँपालिका–५ अब विवाहका लागि वडा कार्यालयबाट अनिवार्य अनुमति लिनुपर्ने नियम लागू गर्ने पहिलो वडा बनेको छ।
बालविवाह नियन्त्रण गरी आफ्नो वडालाई बालविवाहमुक्त क्षेत्र घोषणा गर्ने महत्त्वाकांक्षी लक्ष्यका साथ वडा कार्यपालिकाले यो महत्त्वपूर्ण निर्णय गरेको हो। मङ्गलबार वडाध्यक्ष विपिन मुखियाको अध्यक्षतामा बसेको बैठकले वडाभित्र विवाह गर्नुपूर्व वडा कार्यालयबाट स्वीकृति लिनुपर्ने अनिवार्य प्रावधान पारित गरेको छ। यस निर्णयअनुसार, अब कसैले पनि वडाको अनुमतिबेगर विवाह गरेमा कारबाहीको भागीदार हुनुपर्नेछ।
वडाध्यक्ष मुखियाका अनुसार, यस निर्णयको मुख्य उद्देश्य बालविवाह उन्मूलन गर्नु हो। ‘हाम्रो वडालाई पूर्ण रूपमा बालविवाहमुक्त बनाउनका लागि यस्तो कडा तर आवश्यक निर्णय गरिएको हो,’ उनले भने। नयाँ नियमअनुसार, विवाह गर्न इच्छुक केटा र केटी दुवैको उमेर कम्तीमा २० वर्ष पूरा भएको हुनुपर्नेछ। वडा कार्यालयको स्वीकृति नलिई वा तोकिएको उमेर नपुगी विवाह गरेमा नियमानुसार कारबाही गर्ने निर्णयसमेत बैठकले गरेको वडाध्यक्ष मुखियाले जानकारी दिए।
पटेर्वा सुगौली गाउँपालिका–५ को यो पहलले बालविवाह न्यूनीकरणमा सकारात्मक प्रभाव पार्ने र अन्य स्थानीय तहहरूलाई पनि यस्तै कठोर कदम चाल्न प्रेरित गर्ने अपेक्षा गरिएको छ।