ट्रेन्डिङ

भ्रष्टाचारको दाग : पत्रकार कमल उपाध्याय प्रेस चौतारीबाट निष्कासित

वीरगन्ज । पत्रकारिताको आवरणमा विभिन्न विवादमा मुछिँदै आएका कमल उपाध्यायलाई अन्ततः प्रेस चौतारी नेपालले साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको छ।

भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट दोषी ठहर भएपछि प्रेस चौतारी नेपालको केन्द्रीय महासचिव हिरामान लामाको हस्ताक्षरसहित जारी गरेको पत्रमा विधानको दफा ३ र दफा ५ को (ग) बमोजिम कारबाही गरिएको उल्लेख छ। यो निष्कासनले पत्रकारिता पेसाको गरिमामाथि पटकपटक प्रश्न उठाउँदै आएका उपाध्यायको विवादित अध्यायमा अर्को इँटा थपेको छ।

विशेष अदालतले गत असार ८ गते उपाध्यायलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै ६ महिना कैद र १ लाख १७ हजार ५ सय २० रुपैयाँ जरिवाना गर्ने फैसला सुनाएको थियो। प्रेस चौतारीले अदालतको फैसला आएको एक महिनापछि अनुशासन र विधिको पालना सुनिश्चित गर्न उपाध्यायलाई निष्कासन गर्ने निर्णय गरेको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धानले पचरौता नगरपालिकाको दुईवटा ठेक्काको सूचना राष्ट्रियस्तरको दैनिक पत्रिकामा प्रकाशन गर्नुपर्नेमा उपाध्यायले त्यसो नगरी झूटा विवरण मार्फत केवल रेकर्डका लागि एक प्रति मात्र टेन्डर सूचना प्रिन्ट गराएर ३ लाख ५२ हजार ५६० रुपैयाँको खर्च देखाएको ठहर गरेको थियो। प्रकाशन नदेखाई रकम निकालेर भ्रष्टाचार गरेको यो प्रकरणले उनको व्यावसायिक इमानदारीमाथि गम्भीर प्रश्नचिह्न खडा गरेको थियो।

 

कमल उपाध्याय गत वैशाख ७ गते मात्रै मधेश प्रदेश मिडिया काउन्सिलको अध्यक्षमा नियुक्त भएका थिए। तर, अध्यक्षमा नियुक्ति भएको दुई दिनपछि वैशाख ९ गते अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेपछि उनी स्वतः पदमुक्त भएका थिए। यो घटनाक्रमले उनको नियुक्ति र विवाद एकैसाथ अगाडि बढेको देखाउँछ।

कमल कुमार उपाध्याय ‘केएस मल्टिपर्पोज प्रा. लि.’ का अध्यक्ष र बाराबाट प्रकाशित कृपा दैनिक पत्रिकाका सम्पादक पनि हुन्। ‘केएस मल्टिपर्पोज प्रा. लि.’ मार्फत नै उनले विभिन्न कामहरू गर्दै आएको बताइन्छ। उनका सहकर्मीहरूका अनुसार, पत्रकारिताको आवरणमा उनले विभिन्न पालिकाहरूसँग साना ठेक्कादेखि सामग्री आपूर्ति, सार्वजनिक सुनुवाइ, वृत्तचित्र निर्माणदेखि विभिन्न ठेक्कापट्टाहरू, रङ्गरोगन, कम्प्युटर सप्लाई जस्ता कामहरूमा समेत अनियमितता गर्दै आएका छन्।

वीरगन्जस्थित बाइपास सडक क्षेत्रमा रेस्टुरेन्ट सञ्चालन गर्दै आएका उपाध्याय प्रहरीको धरपकडले आजित बनेर पत्रिका सञ्चालन गर्न पुगेको उनी निकट एक सञ्चारकर्मी बताउँछन्। पत्रिका सञ्चालन गरी पत्रकारको आवरण बनाएपछि उनले विभिन्न पालिकाका प्रमुखहरूसँग मिलेर योजनाहरू हात पार्दै आएको आरोप लाग्ने गरेको छ।

२०५६ सालबाट शुभलक्ष्मी प्रेस मार्फत कृपा नामक पत्रिका बारा जिल्लामा दर्ता गराएका उपाध्यायले २०५८ सालबाट औपचारिक रुपमा कृपा साप्ताहिक सञ्चालनमा ल्याएका थिए। जिल्ला प्रशासन कार्यालय बारामा दर्ता भएको कृपा २०६० सालयता निरन्तर साप्ताहिक हुँदै दैनिक पत्रिकाको रुपमा सञ्चालित छ। वीरगन्जमा घर भए पनि उनले बाराबाट पत्रिका सञ्चालनमा ल्याएका थिए। यसैको आवरणमा ठेक्कापट्टा र विभिन्न योजना/कार्यक्रमहरूबाट उनले विभित्र ठाउँमा जग्गा र गाडी जोडेको उनका सहकर्मीहरू बताउँछन्।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै