ट्रेन्डिङ

आज नाग पञ्चमी : घरको ढोकामा नाग टाँस्ने परम्परा, सर्पको भय निवारणको विश्वास

काठमाडौँ । श्रावण शुक्ल पञ्चमी, अर्थात् आज देशभर हिन्दू धर्मावलम्बीहरूले नाग पञ्चमी पर्व श्रद्धापूर्वक मनाइरहेका छन्।

नाग वा सर्पको पूजा गरिने यस दिनलाई विशेषगरी सर्प–नागको त्रास निवारण र घर–परिवारको रक्षा गर्ने धार्मिक अवसरका रूपमा लिइन्छ।

नाग पञ्चमीको दिन विहानै उठी स्नान गरी शुद्ध भई सर्वप्रथम दियो, कलश र गणेश भगवानको पूजा गर्ने परम्परा छ।

त्यसपछि घरको मूल ढोकाको दुबै पाटीमा गाईको गोबर प्रयोग गरी विषालु सर्पको चित्र बनाई टाँस्ने चलन छ।

धार्मिक मान्यता अनुसार, नागको चित्रमा दही, दूबो, कुश, चन्दन, सिन्दूर लगायत सामग्री अर्पण गरी पूजा गर्दा वर्षभर सर्प, नाग, बिच्छीलगायत जीवजन्तुको त्रासबाट रक्षा हुने विश्वास गरिन्छ।

साथै, आगलागी, चट्याङ, र असिना पानीजस्ता प्राकृतिक प्रकोपबाट समेत घरको सुरक्षा हुने भनाइ रहिआएको छ।

शास्त्रीय मान्यताअनुसार, नागपूजा गर्दा ‘नागशिरोज्ञानम्’ अर्थात नागको शिर कुन दिशामा पर्ने भन्ने कुरामा विशेष ध्यान दिनुपर्ने उल्लेख छ।

  • भाद्र, असोज र कार्तिक महिनामा पूर्व दिशामा
  • मंसिर, पुस र माघमा दक्षिण दिशामा
  • फाल्गुन, चैत्र र वैशाखमा पश्चिम दिशामा
  • जेठ, असार र साउनमा उत्तर दिशामा

आजको नाग पञ्चमी साउन महिनामा परेको हुनाले नागको शिर उत्तर दिशामा परिरहेको विश्वासका साथ सोही दिशातर्फ पूजा गर्नुपर्ने बताइन्छ।

पञ्चाङ अनुसार, आज बिहान ८:४८ देखि १०:२९ सम्म लाभ चोग र त्यसपछि १०:३० देखि १२:०९ सम्म अमृत चोग परेको छ।

त्यसैले यो समयभित्र पूजा अर्चना गरी नागको चित्र टाँस्नु अत्यन्त शुभ मानिएको छ।

संस्कार, विश्वास र सुरक्षासँग जोडिएको नाग पञ्चमीको यो पर्वले आजपनि नेपाली समाजमा मौलिक धार्मिक संस्कृति जीवित राख्न मद्दत पुर्‍याइरहेको देखिन्छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै