फाइल तस्बिर
वीरगन्ज । डा. सीके राउत नेतृत्वको जनमत पार्टीले मधेश केन्द्रित सात दल सम्मिलित संघीय लोकतान्त्रिक मोर्चामा आफ्नो सहकार्यको निरन्तरतामाथि गम्भीर पुनर्विचार गर्ने भएको छ।
जनमत पार्टीले मोर्चाभित्र मुख्यतया तीनवटा विषयमा गहिरो असन्तुष्टि व्यक्त गर्दै सहकार्यमा प्रश्न उठाएको हो।
जनमत पार्टीको प्रमुख आपत्ति अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)लाई मोर्चामा सहभागी नगराइएको विषयमा छ। सात सांसद रहेकोअशोक राई नेतृत्वको जसपा मधेशी दलहरूमध्ये सबैभन्दा ठूलो भए पनि उसलाई मोर्चामा समावेश नगराइएकोमा जनमतले चासो देखाएको छ। जनमतका प्रवक्ता डा. शरदसिंह यादवले यस विषयमा कुरा गर्दै ‘मधेशको सबैभन्दा ठूलो मधेशी दललाई नै बाहिर राखेर कसरी लोकतान्त्रिक मोर्चा बलियो हुन्छ?’ भन्दै प्रश्न गरेका छन्।
दोस्रो महत्त्वपूर्ण मुद्दा उपेन्द्र यादव नेतृत्वको जसपा नेपालप्रति जनमतको संशय हो। जनमत पार्टीको आशंका छ कि जसपा नेपालले जनमतलाई सत्ता गठबन्धनबाट बाहिर राखेर त्यो ठाउँ आफैं लिने गरी राजनीतिक चलखेल गरिरहेको छ।
प्रवक्ता यादवले ‘मधेशको एउटा दलले जनमतलाई बाहिर राखेर त्यो ठाउँमा आफू जान खोजेको छ। तर, सफल हुन सकेको छैन। केन्द्र र मधेशमा जनमतलाई बाहिर राख्ने प्रयत्न भएको हामीले बुझेका छौं,’ भन्दै जसपा नेपालको नियतमाथि प्रश्न उठाए। यद्यपि, जसपा नेपालले हालै सरकारलाई दिएको समर्थन फिर्ता गरिसकेको छ।
तेस्रो विषय भने रुपन्देही–३ को उपनिर्वाचन बनेको छ। मोर्चामा रहेका अन्य छ दल रुपन्देही–३ मा नागरिक उन्मुक्ति पार्टीबाट साझा उम्मेदवार बनाउन सहमत देखिएका छन्, तर जनमत पार्टीले भने उक्त क्षेत्रमा आफ्नै उम्मेदवार उठाउने तयारी गरेको छ। प्रवक्ता यादवले ‘यो मोर्चा बनेको चुनावी गठबन्धनका लागि होइन। रुपन्देही–३ मा हाम्रो आफ्नो उम्मेदवार हुन्छ,’ भन्दै जनमतको छुट्टै चुनावी रणनीति रहने स्पष्ट पारे।
यसले मोर्चाभित्र साझा चुनावी रणनीति बनाउन नसकिएको स्पष्ट पारेको छ। मोर्चामा रहेका दलहरूले आलोपालो बैठक बोलाउँदै आएका छन्। सोमबार जसपा नेपालले बैठक डाकेको छ। जनमतका नेताहरूका अनुसार सोमबारको बैठकमा जनमत पार्टीका प्रतिनिधिहरू सहभागी नहुने सम्भावना बढी छ, जसले मोर्चाको भविष्यमा थप अनिश्चितता थपेको छ।
गत चैतमा जनमत, जसपा नेपाल, नागरिक उन्मुक्ति पार्टी, राजेन्द्र महतोको नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी, महन्थ ठाकुर नेतृत्वको लोसपा, हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टी र वृषेशचन्द्र लाल नेतृत्वको तराई मधेश लोकतान्त्रिक पार्टीसहित सात दल मिलेर संघीय लोकतान्त्रिक मोर्चाको गठन गरिएको थियो। तर, हाल देखिएका यी विवादले मोर्चाको औचित्य र भविष्यमाथि नै प्रश्नचिह्न खडा गरेको छ।