ट्रेन्डिङ

नेपाली कांग्रेस पर्साद्वारा बीपी कोइरालाको ४३औं स्मृति दिवसमा वृक्षारोपण

वीरगन्ज । नेपाली कांग्रेस पर्साले महामानव विश्वेश्वर प्रसाद (बीपी) कोइरालाको ४३औं स्मृति दिवसको अवसरमा पर्सा जिल्लाको हरपतगञ्जस्थित रामजानकी मठ अपौनीमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रमका प्रमुख अतिथि वीरगन्ज महानगरपालिकाका उप–प्रमुख इम्तियाज आलमले बीपी कोइरालाको योगदानको स्मरण गर्दै वातावरण संरक्षणमा वृक्षारोपणको महत्वबारे प्रकाश पारे।

“वृक्ष हाम्रा जीवनका आधार हुन्। हरेक नागरिकले आफ्नो घर, विद्यालय, गाउँ र शहर वरिपरि वृक्षारोपण गरेर वातावरण संरक्षणमा योगदान दिनुपर्छ,” उप–प्रमुख आलमले भने।

उनले बीपी कोइरालाले देश र जनताको हकहितमा पुर्‍याएको योगदानको चर्चा गर्दै थपे, “उहाँले जहानिया राजतन्त्रको अन्त्य र जमिन्दारी प्रथाको उन्मूलनका लागि संघर्ष गर्नुभयो। बीपी कोइराला अब हामीबीच नरहे पनि उहाँका सिद्धान्तहरू हाम्रो मुटुमा जीवित छन्, र हामी ती नै मार्गनिर्देशनअनुसार अगाडि बढिरहेका छौँ।”

कार्यक्रममा वडामा हाल देखिएको खानेपानी संकटप्रति गम्भीर ध्यानाकर्षण गर्दै उप–प्रमुख आलमले भने, “म पानीको समस्यालाई समाधान गर्न निरन्तर लागिपरेको छु। आगामी दिनमा प्रत्येक घरमा पानी पुर्‍याउने गरी कार्य गर्दै छु र प्रतिबद्ध छु।”

वृक्षारोपण कार्यक्रमको अध्यक्षता नेपाली कांग्रेस, हरपतगञ्ज वडा नम्बर -२० का बुथ सभापति हरिचन्द्र प्रसाद यादवले गरेका थिए।

उक्त अवसरमा नेपाली कांग्रेसका स्थानीय नेता, कार्यकर्ता तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको प्रेस सल्लाहकार महमद सदाबले जानकारी दिए।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै