ट्रेन्डिङ

रौतहट गरुडा नगरपालिकाद्वारा किसानलाई ५० प्रतिशत अनुदानमा भैँसी र कृषि उपकरण वितरण

रौतहट, गरुडा । कृषिमा आधारित जनजीवनलाई समृद्ध बनाउने उद्देश्यले गरुडा नगरपालिकाले किसानलाई ५० प्रतिशत अनुदानमा भैँसी तथा विविध कृषि उपकरण वितरण गरेको छ।

नगर प्रमुख कन्थमणि जैसवालको अगुवाइमा आर्थिक वर्ष २०८१/०८२ को बजेट अन्तर्गत सञ्चालित ‘कृषि, पशु, डेरी यान्त्रीकरण तथा भैँसी वितरण कार्यक्रम’ अन्तर्गत नगरपालिकाले नगरका विभिन्न वडाका किसानलाई उपकरण तथा पशु वितरण गरेको हो।

कार्यक्रममार्फत वडा नं. १ देखि ९ सम्मका किसानहरूलाई १४० वटा भैँसी, ५७ वटा विद्युत मोटर, ५४ वटा पम्पसेट, २० जना किसानलाई मिल्क्यान र ३ वटा मिल सेपरेटर वितरण गरिएको मेयर जैसवालले जानकारी दिए।

गरुडा नगरपालिकाले कृषि आधुनिकिकरणलाई उच्च प्राथमिकता दिँदै उत्पादन वृद्धि र किसानको आम्दानी बढाउने लक्ष्यसहित उक्त कार्यक्रम अघि बढाएको जनाएको छ।

एक विशेष समारोहको आयोजना गरेर छनोट भएका किसानलाई सामग्री हस्तान्तरण गरिएको थियो।

यस योजनाअन्तर्गत हालसम्म तीनवटा कुखुराको खोर र तीनवटा माछा पालन पोखरी निर्माण भइसकेका छन्।

यस्तै, कोल्ड स्टोर, एग्रोमार्ट र बजार सेडको निर्माण कार्य तीव्र गतिमा अगाडि बढिरहेको नगरपालिकाले जनाएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै