वीरगन्ज । प्रधानमन्त्री केपी शर्मा ओलीले तराइमा सुक्खाले समस्या बनाइरहेको बताएका छन् ।
बाराको परवानीपुर गाउँपालिकामा नवनिर्मित पालिकाको भवनको उद्घाटन गर्दै प्रधानमन्त्री ओली यस्तो बताएका हुन । चुरे क्षेत्रको दोहनले पर्सा र बारामा खासगरी सुक्खाको समस्या आएको उनी बताउँछन् । तर यसलाई दीर्घकालीनरुपमा समस्याको समाधानतर्फ जानुपर्ने जरुरी रहेको उनको भनाइ छ ।
प्रधानमन्त्री ओलीले भने, ‘पाँच जिल्ला भन्दा बारामा अलिकति खेती भएको छ, तर सुक्खाको समस्या चारैतिर छ । त्यसको लागि चुरे क्षेत्रमा दीर्घकालीनरुपमा ठूलाठूला ताल निर्माणको आवश्यकता रहेको छ ।’
ताल निर्माणले वाटर रिचार्ज भइ सुक्खाको समस्या समाधान हुने प्रधानमन्त्री ओलीको तर्क छ । तत्कालै देखिएको समस्याप्रति संघीय सरकार गम्भीर रहेको जनाउँदै प्रधानमन्त्री ओलीले भने, ‘त्यहीकारणले हामीले मधेसलाई संकटग्रस्त क्षेत्र घोषणा गरेका हौं, जसले गर्दा यो प्रदेशमा सिचाइँका लागि अन्य कदमहरु चाल्न सकिन्छ ।’

उनका अनुसार मधेसमा देखिएको समस्याका लागि सिचाइँ र खानेपानीको प्रबन्ध मिलाउने काम भइरहेहको छ । डीप बोरिङसहित अन्य प्रबन्ध मिलाएर मधेसको समस्या समाधानमा सरकार लागि परेको उनको दाबी छ ।
भवन उद्घाटनमा प्रधानमन्त्री ओली आफ्नो एक वर्ष कार्यकालमा देशभरिमा थुप्रै भवन, बाटाहरु, पुलहरु निर्माण भएको सुनाएका थिए । अहिले देश चौतर्फीरुपमा अगाडि बढीरहेको उनको तर्क छ । राजतन्त्र ढलेपछि देशमा विकासको लहर आएको प्रधानमन्त्री ओलीको दाबी छ ।