फाइल तस्बिर
सिरहा । सशस्त्र प्रहरी बल, नेपाल नं. ७ गण, सिरहाले आर्थिक वर्ष २०८१/८२ मा ९ करोड ६० लाख रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको छ।
यो तथ्यांकले सीमा क्षेत्रमा अवैध गतिविधि नियन्त्रणमा सशस्त्र प्रहरीको सक्रियता बढेको देखाउँछ। सशस्त्र प्रहरी गण सिरहाका गणपति तथा सशस्त्र प्रहरी उपरीक्षक नरेश भण्डारीका अनुसार, यस अवधिमा लत्ताकपडा, किराना, हार्डवेयर, इलेक्ट्रोनिक्स, औषधि, मदिरा, पशु चौपाया लगायतका विभिन्न सामग्रीहरू र गैरकानुनी रूपमा प्रयोग गरिएका सवारीसाधन नियन्त्रणमा लिइएका छन्।
बरामद गरिएका प्रमुख अवैध सामग्रीहरूमा लत्ताकपडा २ करोड ६६ लाख ८ हजार रुपैयाँ, किराना सामान २ करोड २० लाख रुपैयाँ, हार्डवेयर ४३ लाख ५८ हजार रुपैयाँ, इलेक्ट्रोनिक्स ४० लाख ७१ हजार रुपैयाँ, मदिरा २३ लाख ५१ हजार रुपैयाँ, पशु चौपाया १३ लाख ५६ हजार रुपैयाँ, नगद ४ लाख र काठ ९३ हजार रुपैयाँबराबरका रहेका छन् ।
अवैध कार्यमा प्रयोग गरिएका सवारीसाधनहरू पनि ठूलो संख्यामा नियन्त्रणमा लिइएका छन्। जसमा २२२ वटा मोटरसाइकल, ६ वटा पिकअप–स्कारपियो, २१ वटा ट्र्याक्टर, १ वटा म्याजिक र ४ वटा सिटी सफारी/अटो/रिक्सा समावेश छन्। यी सवारीसाधनको कुल मूल्य ३ करोड ३७ लाख ८ हजार रुपैयाँ रहेको प्रहरीले जनाएको छ।
यस क्रममा १५ जना व्यक्तिलाई नियन्त्रणमा लिई सम्बन्धित निकायमा बुझाइएको सशस्त्र प्रहरीले बताएको छ। गणपति भण्डारीले भने, ‘सीमा सुरक्षा, चोरी तस्करी नियन्त्रण र विपद् व्यवस्थापनमा सशस्त्र प्रहरी सक्रिय भएर काम गरिरहेको छ। हामी आगामी दिनमा यस्ता गैरकानुनी कार्यविरुद्ध अझै कडा रूपमा प्रस्तुत हुनेछौँ।’
उल्लेखनीय छ, अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा सशस्त्र प्रहरीले ८ करोड ४१ लाख रुपैयाँ बराबरको अवैध सामग्री बरामद गरेको थियो।