सप्तरी । सप्तरीमा आइतबार बेवारिसे अवस्थामा एक जना पुरुषको शव फेला परेको छ । सप्तकोशी नगरपालिका वडा नम्बर ३ सखुवनीस्थित एक जना पुरुषको शव बेवारिसे अवस्थामा फेला परेको हो ।
त्रियुगा नदीमा आज पहिचान खुल्न नसकेको अन्दाजी ६०–६५ वर्षको पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ ।
त्रियुगा नदीमा बाढीले बगाएर ल्याएको अवस्थामा दाउरा टिप्न गएका स्थानीयले देखेपछि स्थानीय फत्तेपुर प्रहरी चौकीलाई खबर गरेका थिए । फत्तेपुर प्रहरी चौकीका प्रमुख प्रहरी नायब निरीक्षक पन्नालाल चौधरीले शरीर गली सकेको हुनाले शव चिन्न सक्ने अवस्थामा नरहेकोले शवलाई अनुसन्धानपछि मात्र टुङ्गो लगाइने जानकारी दिए ।
उनका अनुसार मृतकको घाँटीमा तुलसीको माला, हातमा कालो डोरो र कम्बरमा गम्छा बाँधिएको छ भने अनुहार चिनिने अवस्थामा नरहेको, कङ्काल मात्र बाकी रहेको बताए ।
मुचुल्का उठाएर शव परीक्षणका लागि राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पताल पठाइएको तथा घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।