काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ सरेकोले यसको प्रभाव कम देखिएको हो।
हाल कोशी, बागमती, गण्डकीलगायतका पहाडी भू–भागमा सामान्य बदली रहेको छ भने बाँकी प्रदेशमा आंशिक बदलीको अवस्था छ।
बागमती प्रदेशका केही स्थानमा अहिले हल्का वर्षा भइरहेको छ।
महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रहनेछ भने अन्य प्रदेशहरूमा आंशिक बदली रहनेछ।
ती प्रदेशका पहाडी भूभागका केही स्थानहरूमा र अन्य क्षेत्रका थोरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षासमेत हुने सम्भावना छ।
यसबाहेक, कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।
आज राति कोशी, मधेस र बागमती प्रदेशका केही स्थानहरूमा तथा अन्य प्रदेशका थोरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
त्यस्तै, कोशी र मधेस प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुने संकेत दिइएको छ।
महाशाखाले कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा संभावित भारी वर्षालाई मध्यनजर गर्दै सतर्कता अपनाउन आग्रह गरेको छ।