ट्रेन्डिङ

पत्रकार महासंघद्वारा सुवर्ण गाउँपालिका अध्यक्षको अभिव्यक्तिप्रति कडा आपत्ति : माफी नमागे आन्दोलनको चेतावनी

कलैया । बाराको सुवर्ण गाउँपालिकाका अध्यक्ष राजेश यादवले पत्रकारिता क्षेत्रलाई बदनाम गर्ने उद्देश्यले सामाजिक सञ्जालमा दिएको आपत्तिजनक अभिव्यक्तिको नेपाल पत्रकार महासंघ, बारा शाखा र मधेश प्रदेश समितिले कडा शब्दमा निन्दा गरेका छन्।

दुवै समितिले अध्यक्ष यादवलाई तत्काल आफ्नो अभिव्यक्ति फिर्ता लिई सार्वजनिक रूपमा माफी माग्न आग्रह गर्दै अन्यथा थप कडा कदम चाल्न बाध्य हुने चेतावनी दिएका छन्।

हिजो दिउँसो अध्यक्ष यादव चढेको स्कारपियोको चक्कामा मोटरसाइकल ठोक्किएर टायर पञ्चर भएपछि उनले चालक युवकलाई गालीगलौज र दुर्व्यवहार गरेको घटना प्रकाशमा आएको थियो। यो घटनाबारे पत्रकारहरूले समाचार लेखेकै आधारमा अध्यक्ष यादवले सामाजिक सञ्जालमार्फत पत्रकारिता पेशामाथि नै निराधार आक्षेप र अपमानजनक टिप्पणी गरेको महासंघको भनाइ छ।

नेपाल पत्रकार महासंघ, बारा शाखाका अध्यक्ष रमेश सुवेदीद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘अध्यक्षको यस प्रकारको अभिव्यक्तिले सञ्चारकर्मीहरूको मनोबल कमजोर हुनुका साथै डर, त्रासको सिर्जना भई निष्पक्ष र भयरहित रूपमा समाचार सम्प्रेषण गर्न समस्या उत्पन्न भएको छ।’

समाचारको विषयमा चित्त नबुझेमा कानुनी उपचार खोज्ने निकाय हुँदाहुँदै अध्यक्ष यादवले लोकतान्त्रिक मूल्य, मान्यता र आदर्शलाई समेत आत्मसात नगरी पत्रकार र पत्रकारितालाई बदनाम गराउने तथा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गरेको महासंघले आरोप लगाएको छ। अध्यक्ष यादवले पत्रकारहरूमाथि आर्थिक लाभका लागि पैसा वा तेल माग्ने जस्ता बेबुनियादी आरोप लगाएको भन्दै बारा शाखाले आपत्ति जनाएको छ।

विज्ञप्तिमा भनिएको छ, ‘आर्थिक लाभका लागि कुन पत्रकारले कहिले, कहाँ पैसा, तेल माग्ने काम गर्यो ?’ यदि ती कुरामा सत्यता छ वा त्यसका आधार, प्रमाण छ भने सार्वजनिक गर्न अध्यक्ष यादवसँग जोडदार माग गर्दछौँ।’ आफ्नो स्वार्थ सिद्ध गर्नका लागि सञ्चार माध्यममा आएको समाचारलाई अर्को सञ्चार माध्यमबाट खण्डन गराउने कार्यमा संलग्न हुनु पत्रकारिताको सम्मानमाथिको हमला भएको पनि विज्ञप्तिमा उल्लेख छ।

मधेश प्रदेश समितिद्वारा निन्दा र चेतावनी
यसैबीच, नेपाल पत्रकार महासंघ, मधेश प्रदेश समितिले पनि सुवर्ण गाउँपालिका अध्यक्ष राजेश यादवको अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। महासंघका महासचिव शैलेन्द्र महतो ‘क्रान्ति’ द्वारा जारी प्रेस विज्ञप्तिमा अध्यक्ष यादवको गैरजिम्मेवार तथा अपमानजनक अभिव्यक्ति प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको आक्रमण भएको उल्लेख छ।

‘समाचारप्रति असहमति जनाउने कानुनी बाटो खुला हुँदाहुँदै सार्वजनिक पदमा रहेका व्यक्तिले सामाजिक सञ्जालमा यस्तो गैरजिम्मेवार तथा अपमानजनक अभिव्यक्ति दिनु निन्दनीय मात्र होइन, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको आक्रमण पनि हो,’ विज्ञप्तिमा भनिएको छ। मधेश प्रदेश समितिले यस कार्यको घोर भर्त्सना गर्दै अध्यक्ष यादवलाई सामाजिक सञ्जालमार्फत दिएको अभिव्यक्ति तत्काल फिर्ता लिई आत्मसमीक्षा गर्न आग्रह गरेको छ।

दुवै समितिले अध्यक्ष यादवले माफी नमागेमा महासंघ आगामी कदम सार्वजनिक गर्न बाध्य हुने चेतावनी दिएका छन्। विज्ञप्तिहरूमा पछिल्लो समय पत्रकारिता पेशालाई अमर्यादित बनाउने खालका गतिविधिहरू बढिरहेको र समाचारलाई अर्को सञ्चार माध्यमबाट खण्डन गर्ने कार्य भइरहेकोप्रति चिन्ता व्यक्त गर्दै सबै पत्रकार र सञ्चार माध्यमका प्रकाशक, सम्पादकहरूलाई यस्ता कार्य नगर्नरनगराउन आग्रह गरिएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै