रौतहट । रौतहट प्रहरीले विशेष सूचनाका आधारमा एक ब्रेजा कारबाट ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद गरेको छ।
इलाका प्रहरी कार्यालय गरुडाको टोलीले चन्द्रनिगाहपुरबाट गौरतर्फ जाँदै गरेको ग ३ च ६८९६ नम्बरको ब्रेजा कारलाई झाझ खोला नजिक नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार रोक्ने संकेत दिंदा चालकले गाडी लिएर फरार हुन खोजेपछि प्रहरी टोलीले तत्काल पछ्याउँदै नियन्त्रणमा लिएको हो।
सो क्रममा कारबाट ठूलो परिमाणमा गाँजा फेला परेको प्रहरीले जनाएको छ।
रौतहट प्रहरी प्रमुख एसपी नेत्रमणी गिरीका अनुसार हालसम्म गाडीबाट गाँजा झिक्ने कार्य भइरहेको छ।
उनले भने, “कति परिमाणमा गाँजा बरामद भयो भन्ने विवरण निकाल्ने प्रक्रिया जारी छ, सबै विवरण सकिएपछि पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिनेछ।”
प्रहरीका अनुसार लागुऔषधसहित गाडी गौरतर्फ गइरहेको सूचना प्राप्त भएपछि गरुडा प्रहरीले निगरानी र जाँचलाई तीव्र बनाएको थियो।
सोही क्रममा उक्त गाडीबाट गाँजा बरामद गर्न प्रहरी सफल भएको हो।