
काठमाण्डौँ । अविरल वर्षाका कारण भएको क्षतिप्रति जनमत पार्टीले दुख व्यक्त गरेको छ ।
जनमत पार्टीका राष्ट्रिय प्रवक्ता डा.शरदसिंह यादवले आइतबार प्रेस विज्ञप्ति जारी गरी बाढीपहिरोका कारण भएको ठूलो जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै सरकारको ध्यानाकर्षण समेत गराएका छन् ।
युद्धस्तरमा उद्धार कार्य गर्न तथा नागरिकहरुलाई सुरक्षित स्थानको व्यवस्थापन गर्न, राहत कार्यलाई थप सक्रियताको साथ अगाडि बढाउन पार्टीले सरकारको ध्यानाकर्षण गराएको हो ।
विपत् व्यवस्थापनको तयारीमा सरकार कमजोर देखिएको जनमत पार्टीको ठहर छ ।
बिहिबारदेखिको निरन्तरको वर्षापछि आएको बाढीपहिरोले देशभरमा १ सय ४८ जनाको मृत्यु भएको छ भने सय जनाभन्दा बढी घाइते छन् ।
यस्तै हालसम्म ५५ जना बेपत्ता भएका प्रहरीले जनाएको छ ।