
बीरगन्ज । रौतहटमा विपत्का घटनामा परी ३ जनाको मृत्यु भएको छ । ६ जना घाइते भएका छन् ।
निरन्तरको वर्षापछि आएको बाढीका कारण आइतबार दिउँसो साढे २ बजेसम्म ३ जनाले ज्यान गुमाएको प्रहरीले जानकारी दिएको छ ।
नदीमा आएको बाढीमा डुबेर र करेन्ट लागेर रौतहटमा तिन जनाको ज्यान गएको प्रहरीको तथ्यांक छ ।
दुर्गाभगवती गाँउपालिकामा एक पुरुषको मृत्यु भएको छ भने परोहा नगरपालिकामा एक बालिकाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक दिलिप घिमिरेले बताए ।
उनका अनुसार दुर्गाभगवती गाँउपालिका ४ का ३५ वर्षीय बच्चा भन्ने राजकुमार मुखियाको मृत्यु भएको छ भने बाढीको पानीमा माछा मार्ने क्रममा चिप्लिएर लडेका उनको डुबेर मृत्यु भएको छ ।
परोहा नगरपालिकाको नरकटियामा घाँस काटन गएकी १४ वर्षीया छोरी आशा कुमारी साहको डुबेर ज्यान गएको प्रहरीले जनाएको छ ।
यस्तै कलको पानी खाने क्रममा बौधिमाई–२ मा करेन्ट लाग्दा एक १४ वर्षीय बालक अनिल महतोको पनि मृत्यु भएको छ । उनलाई विद्युतीय मोटर जडान गरिएको कलको पानी खाने क्रममा करेन्ट लागेको थियो ।
जिल्लाका १४ वटा पालिकाहरु बाढीका कारण प्रभावित भएका छन् ।
प्रभावित पालिकाहरुमा बृन्दानव, गढीमाई, माधव नारायण, दुुर्गाभगवती, यमुुनामाई, गौर, राजदेवी, राजपुर, इशनाथ, परोहा, बौधिमाइ, मौलापुर, देवाही गोनाही र कटहरिया नगरपालिका रहेका प्रहरी उपरीक्षक घिमिरेले जनाए ।
उनका अनुसार जिल्लाभर एक हजार ८०५ घरधूरीका पाँच हजार ५९५ परिवार बाढीबाट प्रभावित छन् ।
बिस्थापित :
अविरल वर्षापछिको बाढीले रौतहटमा प्रहरी कार्यालय तथा चौपायाहरु बिस्थापित भएको प्रहरी तथ्यांक छ ।
प्रहरीका अनुसार बेलबिछुवा–८ स्थित प्रहरी चौकी, बसतपुर, बडर्वा भन्सार सुरक्षा, कारागार सुरक्षा गार्ड, अस्थायी ट्राफिक पोष्ट गौर तथा इलाका प्रहरी कार्यालय बञ्जारा बिस्थापित भएका छन् ।
यस्तै ५ वटा खसी तथा बाख्रा र १ वटा गाई समेत बिस्थापित भएका प्रहरी बताउँछ ।
जिल्लाभरमा बाढीले एक हजार २४५ घर डुुबानमा पर्दा ४ वटा घरहरु भने भत्किएका जनाइएको छ ।
यसैगरी बाढीले अवरुद्ध बनाएका ७ ठाँउका सडकहरुमध्ये २ ठाँका भने सुचारु भइसकेका जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
रौतहटमा बाढीको पानी घटने क्रममा रहेको प्रहरीले बताएको छ ।