ट्रेन्डिङ

मधेश प्रदेशमा बाढीको वितण्डा : चार जनाको मृत्यु, २ बेपत्ता

४८८ परिवार बिस्थापित

बीरगन्ज । सप्तरीमा ढक्कनले नछोपिएको नालामा डुबेर एक बालकको मृत्यु भयो। जिल्लाको राजबिराज नगरपालिका वडा नम्बर ८ का ८ वर्षीय प्रिन्स कुमार साहको नालामा डुबेर मृत्यु भएको हो ।

बलान बिहुल गाउँपालिका वडा नम्बर ४ स्थित ढक्कन नभएको नालामा डुबेको अवस्थामा उनको शब प्रहरीले शनिबार बिहान ९ बजेको समयमा बरामद गरेको थियो ।

घर नजिकै खेलिरहेका प्रिन्स अचानक बेपत्ता भएका थियो । प्रहरीले खोजी गर्ने क्रममा उनको शव नालाबाट निकालेको जनाएको छ ।

यसैगरी बाढी हेर्न गएका दुइ जनालाई खोलाले बगाउँदा महोत्तरीमा २ जनाको ज्यान गयो । सोनी र खैरमारा खोलाले बगाउँदा शनिबार दुइ जनाको ज्यान गएको प्रहरी तथ्यांक छ ।

जिल्लाको गौशाला नगरपालिका वडा नम्बर ८ कुश्मारी का १६ वर्षीय रोहित साहको मृत्यु भएको हो । उनलाई सोनी खोलाले बगाएर लैजाँदा मृत्यु भएको प्रहरीले जनाएको छ ।

बर्दिबास नगरपालिका वडा नम्बर ११ बस्ने २१ वर्षीय मानबहादुर थिङ पनि खैरमारा खोलाले बगाउँदा मृत्यु भयो ।

यता रौतहटको दुुर्गाभगवती गाउँपालिका वडा नम्बर ४ पंचरुखीमा खेतको आलीमा चिप्लिएर एक जनाको ज्यान गएको छ । स्थानीय बच्चा भन्ने राज कुमार मुखियाको आफ्नै खेतका काम गर्ने क्रममा आलीमा चिप्लिँदा घटनास्थलमै मृत्यु भएको प्रहरीको भनाइ छ ।

विपत्का घटनामा परी मधेश प्रदेशमा चार जनाको मृत्यु भएको छ ।

विपत्का घटनामा परी असोज ११ गतेदेखि आइतबार आजसम्म दुइ दिनको अवधिमा प्रदेशभरबाट चार जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

अविरल वर्षापछि भएका यस्ता घटनामा परी प्रदेशभर चार जना पुरुषहरुले ज्यान गुमाएको मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामले जानकारी दिएको छ ।

प्रहरी प्रवक्ता सुवास चन्द्र बोहोराका अनुसार ज्यान गुमाउनेमा महोत्तरीमा २, सप्तरी १ र रौतहटका १ जना गरि चार जना रहेका छन् ।

कति बेपत्ता ?

शुक्रबार देखि आइतबार अर्थात् यो दुुइ दिनभित्र प्रदेशभरबाट २ जना बेपत्ता समेत प्रहरी आँकडा छ । बीरगन्ज र सर्लाही गरी दुइ जिल्लाबाट २ जना किशोरकिशोरी बेपत्ता भएका प्रहरी बताउँछ ।

बेपत्ता हुनेमा एक १७ वर्षकी किशोरी रहेकी प्रहरीले जनाएको छ । यद्यपी उनको यथार्थ विवरण खुली नसकेको पर्सा प्रहरीका प्रमुख कुमोध ढुंगेलले जानकारी दिए ।

आइतबार बिहान ९ बजे उनी बीरगन्जको रानीघाटस्थित सिर्सिया नदीमा हाम फाल्दा बेपत्ता भएकी प्रहरीको भनाइ छ । उनको अवस्था हालसम्म अज्ञात तथा तीव्र खोजी कार्य भइरहेको प्रहरीले जानकारी दिएको छ ।

यस्तै सर्लाहीको बागमती गाउँपालिका वडा नम्बर ९ सक्रौलका १५ वर्षीय मुकेश महतो बेपत्ता छन् ।

सोती खोलामा आएको बाढीले बगाउँदा उनी बेपत्ता भएका हुन् । उनको पनि खोजी कार्य भइरहेको प्रहरीले जानकारी दिएको छ ।

कति घाइते ?

वितेको दुुइ दिनमा प्रदेशभरका ८ जना यस्ता घटनामा परी घाइते भएका छन् । घाइतेहरुमा रौतहटबाट ३, बारा ३ सर्लाही १ र सप्तरीबाट १ जना रहेका प्रहरीको विश्लेषण छ ।

प्रदेश प्रहरीका अनुसार घाइतेहरुमा चट्याङ लागेर ३, घरको छाना खस्दा ३ जना, खोला तर्ने क्रममा १ जना र रुखको हांगा भाच्चिएर १ जना गरी जम्मा ८ जना घाइते भएका तथ्यांक छ ।

उनीहरु सबैको अवस्था सामान्य रहेको तथा फरकफरक अस्पतालहरुमा उपचार भइरहेको प्रवक्ता बोहोराले बताए ।

प्रदेश प्रहरीका अनुसार यो अवधिमा बाढी, पहिरो तथा डुुबानका कारण प्रदेशका ९६ घरधूरीका ४८८ परिवार विस्थापित भएका छन् । यस्तै ३२ वटा घरहरुमा क्षति पुगेको मधेश प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै