ट्रेन्डिङ

बीरगन्जमा पारिलो घाम लाग्यो, सर्वसाधारण फर्किए दैनिकीमा

बीरगन्ज । पछिल्लो तीन दिनदेखिको झरी थामिएको छ । झरी थामिएर आइतबार बिहानैदेखि घाम लागेको छ ।

बिहानैदेखि बादल हटेर पारिलो घाम देख्दा बीरगन्जबासी हर्षित भएका छन् । घाम लागेछि सर्वसाधारणको दैनिकी पनि सामान्य बन्दै गएको छ ।

बिहिबार रातिदेखिको निरन्तरको वर्षाका कारण सर्वसाधारण अतालिएका थिए । नालाबाट पानी निकासा नहुँदा सर्वसाधारणको घरहरु तथा सरकारी कार्यालयहरुमा समेत पानी पसेको थियो ।

बिहानै देखि मौसममा सुधार आइ पारिलो घाम लागेपछि राहत पाएको पानीट्याङकी निवासी रिता राइले बताइन् । उनले भनिनु, ‘तीनदिन भाको थियो घाम नदेखेको । पानी नरोकिदाँ घरको अवस्था बिजोग नै भाको छ । चिसो लुुगाहरु सुकाउन पाएका थिएनौ । घर नै चिसो गन्हाउन थालेको थियो, तर आज बिहानैदेखि घाम लाग्यो । आनन्द महसुस भएको छ । सबै काम सकाउनु पर्ने छ ।’

भिश्वा निवासी सुस्मा श्रेष्ठको भनाइ पनि फरक छैन । उनी सुनाउछिन, ‘पानी परेको परे गरेको देखेर दिग्दारी लागेको थियो । पानी पनि घरभित्रै पसेको छ । घर छरपस्त देख्दा हामी आत्तिएका थियौ । अब भने बिस्तारै घरको काम सकाउछुँ ।’
अविरल वर्षाका कारण सबैभन्दा बढी बालबालिका, वृद्धवृद्धा, मजदुर र ठेला रिक्सा चलाएर दैनिकी चलाउने सर्वसाधारण धेरै प्रभावित बनेका थिए । तर आजको घामसँगै उनीहरु आ–आफ्नो दैनिकीमा फर्किन सुरु गरेका छन् ।

यद्यपी अब भने चिसो मौसम सुरु हुने बीरगन्जबासीको अनुमान छ ।

आज कस्तो रहनेछ मौसम ?

देशभर आज मौसम आंशिकदेखि साधारणतया बदली रहने छ । आगामी २४ घण्टामा कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना रहेको छ ।

जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । मधेस प्रदेशलगायत कोशी र लुम्बिनी प्रदेशको तराई क्षेत्रमा हुरीबतासको पनि सम्भावना रहेको भन्दै महाशाखाले सचेत गराएको छ ।

ती क्षेत्रमा हुनसक्ने गेग्रान बहाव, बाढी, पहिरो, सहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम, ठुला तथा साना नदी नाला र खोलामा पानीको सतह बढ्ने जोखिम तथा भूक्षयजस्ता प्रकोपको जोखिम र क्षतिबाट बच्न समेत महाशाखाले सचेत गराएको छ ।

ती क्षेत्रमा नदी क्षेत्र आसपासका निर्माण कार्य, दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।

महाशाखाका मौसमविद् रोजन लामिछानेले आज राति कोशी, मधेस र बागमती प्रदेशमा साधारणतया बदलीदेखि पूर्णतया बदली रहने जानकारी दिए । उनले बाँकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहने बताए ।

महाशाखाको मौसम विश्लेषणअनुसार कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना रहेको छ । यी पाँच प्रदेशका धेरै स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

मौसमविद लामिछानेका अनुसार सोमबार पनि देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । सोमबार बिहानदेखि दिउँसोसम्म हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ भने साँझदेखि वर्षा कम भएर जाने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै