काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले राजीनामा दिएका छन्।
घुस ‘डिल’ को अडियो सार्वजनिक भएसँगै चर्किएको विवादपछि गुप्ताले सोमबार प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाएका हुन्।
गुप्ताले सार्वजनिक वक्तव्य जारी गर्दै आफूलाई बदनाम गर्ने योजनाअनुसार गलत ढंगले प्रचार गरिएको आरोप लगाएका छन्।
उनले भनेका छन्, “कहिलेकाहीँ नखाएको विष पनि लाग्दो रहेछ, म अहिले त्यसैको शिकार भए।”
राजीनामासँगै गुप्ताले घुस प्रकरणको निष्पक्ष अनुसन्धान हुनु पर्नेमा जोड दिएका छन्।
“आफूमाथि लागेका आरोपको सत्यतथ्य बाहिर आउन सकोस् भन्ने उद्देश्यले मन्त्री पदबाट राजीनामा दिएको छु,” उनले भनेका छन्।
गुप्ताले प्रविधिको ‘दुरुपयोग’ को मारमा आफू परेको दाबी गर्दै अब कोही निर्दोष व्यक्ति त्यसको शिकार नहोस् भन्ने कामनासमेत व्यक्त गरेका छन्।
वक्तव्यमा उनले विगतमा साथ र समर्थन दिने सबैप्रति आभार व्यक्त गर्दै पुनः पार्टीले दिएको जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गर्दै जनताको बीचमा पुग्ने अठोट व्यक्त गरेका छन्।
गुप्ताको नाम घुस डिलसम्बन्धी अडियोमा आएको भन्दै उनीमाथि आलोचना हुँदै आएको थियो।
अडियोको सत्यता पुष्टि नभइसकेको अवस्थामा नै चर्किएको विवादपछि अन्ततः उनले पदबाट राजीनामा दिएका हुन्।