वीरगन्ज । मधेश प्रदेश सरकारले भारतबाट नेपाल आउने पर्यटकहरूलाई सीमानाकामा सुरक्षा जाँच तथा अन्य प्रक्रियाका नाममा हुने अनावश्यक झन्झट हटाउन पहल गरेको छ।
उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री ई.बसन्त कुशवाहाले मधेश प्रदेशका आठवटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गर्दै भारतीय पर्यटकलाई सहजीकरण गर्न निर्देशन दिएका हुन्।
मन्त्री कुशवाहाले सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्साका जिल्ला प्रशासन कार्यालयलाई पठाएको पत्रमा भारतीय सीमानाकाबाट नेपाल घुम्न आउने पर्यटकहरूलाई सुरक्षा चेकजाँच लगायतका नाममा अनावश्यक झन्झट दिइने तथा उचित व्यवहार नहुने जस्ता गुनासोहरू प्राप्त भएको उल्लेख गरेका छन्। उनले ती गुनासोहरूलाई सम्बोधन गर्दै भारतबाट आउने पर्यटकहरूलाई आवश्यक सहजीकरण गर्न र गराउन व्यवस्था मिलाउन अनुरोध गरेका छन्।
यस पहललाई मधेश प्रदेशमा भारतीय पर्यटकको आगमन बढाउन र पर्यटन क्षेत्रको विकास गर्नका लागि महत्वपूर्ण कदमका रूपमा हेरिएको छ। सीमानाकामा सहज वातावरण भएमा पर्यटकको संख्या बढ्ने र त्यसले स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने विश्वास लिइएको छ।
यस पत्रको बोधार्थ गृह मन्त्रालय (सिंहदरबार, काठमाडौं), मधेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह, सञ्चार तथा कानून मन्त्रालयलाई समेत दिइएको छ।