वीरगन्ज । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि २५ अर्ब ७६ करोड ४३ लाख ४१ हजार रुपैयाँको अनुमानित बजेट प्रस्तुत गरेको छ।
आइतबार नगर सभाको १७औँ अधिवेशनको पहिलो बैठकमा उपप्रमुख सुनिता डंगोलले यो बजेट पेस गरेकी हुन्।
गत आर्थिक वर्ष २०८१/०८२ को २४ अर्ब ९० करोड ६३ लाख २५ हजार रुपैयाँको तुलनामा यसपटक बजेटको आकार बढेको छ। कुल विनियोजनमध्ये २५ अर्ब ११ करोड ४३ लाख ४१ हजार रुपैयाँ सञ्चित कोषमा व्ययभार पर्ने र ६५ करोड रुपैयाँ अन्य बाह्य व्ययभार हुने उपप्रमुख डंगोलले जानकारी दिइन्।
बजेटको स्रोतका रूपमा महानगरपालिकाको आन्तरिक आय र बैंक मौज्दातबाट २० अर्ब १२ करोड ६४ लाख रुपैयाँ संकलन हुने अनुमान गरिएको छ। यस्तै, नेपाल सरकार तथा प्रदेश सरकारबाट सशर्त, समानिकरण र राजस्व बाँडफाँडबाट ४ अर्ब ९८ करोड ७९ लाख ४१ हजार रुपैयाँ अनुदान प्राप्त हुनेछ।
आगामी आर्थिक वर्षमा काठमाडौं महानगरपालिकाले पूर्वाधार योजनाहरूलाई उच्च प्राथमिकतामा राखेको छ। यसबाहेक, फोहोरमैला व्यवस्थापन, विद्यालय शिक्षा प्रणालीमा सुधार, सुशासन प्रवद्धन, शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रको क्षमतावृद्धि, एक वडा एक उद्यम कार्यक्रममार्फत रोजगारी र आयवृद्धि गर्ने लगायतका कार्यक्रमहरूलाई पनि प्राथमिकता दिइएको छ।
ध्वनि प्रदूषण कम गर्ने, सार्वजनिक यातायातलाई व्यवस्थित गर्ने, तथा महानगरक्षेत्रभित्रका ऐतिहासिक, धार्मिक, पुरातात्विक महत्व बोकेका मठमन्दिर, बहाल, पोखरी, हिटी, वहाः वही, ननी लगायतका सम्पदास्थलहरूको संरक्षण र प्रवद्धनमा पनि यथेष्ट बजेटको व्यवस्थापन गरिएको उपप्रमुख डंगोलले बताइन्।
बजेट प्रस्तुतिका क्रममा उपप्रमुख डंगोलले स्थानीय सरकार सञ्चालन ऐनले तोकेको समयसीमाभन्दा केही ढिलाइ भएको स्वीकार गर्दै विगतका केही मनमुटावले असर गरेको समेत उल्लेख गरिन्।