वीरगन्ज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय सूचना प्रविधि केन्द्र (एनटीसी)का तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेल सहित ६ जनाविरुद्ध १५ करोड ८८ लाख ५० हजार रुपैयाँ भन्दा बढीको भ्रष्टाचार मुद्दा दायर गरेको छ।
उच्च गति कम्प्युटिङ उपकरण खरिदमा कमसल गुणस्तरको सामग्री प्रयोग गरेको अभियोगमा उनीहरूविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरिएको हो।
अख्तियारका अनुसार, २०७६ माघ १५ गते भएको ठेक्का सम्झौतामा ‘उच्च गति कम्प्युटिङ उपकरण’ खरिद गर्ने भनिए पनि कमसल गुणस्तरको उपकरण खरिद गरिएको पाइएको छ। बोलपत्र दस्तावेजमा उल्लेख भएअनुसार प्रत्येक स्टोरेज कन्ट्रोलरमा २.४ गिगाहर्ज कार्यक्षमताको २४ कोर प्रोसेसर जडान गर्नुपर्नेमा ओराकल जेडएफएस स्टोरेस अप्लायन्स जेडएस–२ कन्ट्रोलरमा २.१ गिगाहर्जको प्रोसेसर मात्र राखिएको थियो।
अख्तियारका प्रवक्ता राजेन्द्र कुमार पौडेलका अनुसार, २.४ गिगाहर्जको प्रोसेसरले २.१ गिगाहर्जको तुलनामा १४.२८ प्रतिशत बढी कम्प्युटिङ क्षमता राख्ने हुँदा यो खरिद सम्झौतामा गुणस्तरीय कम्प्युटर उपकरण देखाएर कमसल सामग्री जडान गरिएको स्पष्ट देखिन्छ।
यो भ्रष्टाचार मुद्दामा एनटीसीका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेलसहित, निर्देशक सफल श्रेष्ठ, सहायक निर्देशक रमेश पोखरेल, कम्प्युटर इन्जिनियर रामशरण गायक, लेखा अधिकृत निम बहादुर वली र ठेक्का पाएको वर्ल्ड डिस्ट्रिव्युसन नेपाल प्रालिका अध्यक्ष तथा प्रबन्ध निर्देशक अरुण श्रेष्ठ लाई प्रतिवादी बनाइएको छ। अख्तियारले उनीहरूमाथि भ्रष्टाचार निवारण ऐन २०५९ अनुसार कारबाहीको माग गरेको छ।