ट्रेन्डिङ

मधेश सुख्खाग्रस्त क्षेत्र घोषणा, पर्सा लगायतका जिल्लामा पानीको हाहाकार

सरकारद्वारा केन्द्रसँग सहयोग माग

जनकपुर । पानीको चरम अभावले ग्रस्त बनेको मधेश प्रदेशलाई अन्ततः प्रदेश सरकारले औपचारिक रूपमा सुख्खाग्रस्त क्षेत्र घोषणा गरेको छ।

बिहीबार साँझ ८ बजे बसेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को बैठकले यो निर्णय गरेको हो।

प्रदेशभरि लामो समयदेखि वर्षा नहुनु, तापक्रममा वृद्धि हुनु र बिउ रोप्ने समयमै खेत सुक्खा रहनुले संकट निम्त्याइरहेको अवस्थामा सरकारले आपतकालीन निर्णय लिएको हो।

मुख्यमन्त्री सतिस कुमार सिंहका अनुसार, “आजको मन्त्रिपरिषद्को बैठकले मधेशलाई सुख्खाग्रस्त क्षेत्र घोषणा गर्नुका साथै तत्काल केन्द्रीय सरकारसँग सहयोग माग्ने निर्णयसमेत लिएको छ।”

मुख्यमन्त्री सिंहले पानीको चरम संकट समाधानका लागि केन्द्रसँग सिँचाइ, खानेपानी र अन्य आवश्यक पूर्वाधार निर्माणमा आपतकालीन सहयोगको माग गरिने क्याबिनेटले निर्णय गरेको बताए।

पर्सामा सबैभन्दा भयावह स्थिति

विशेषगरी पर्सा जिल्ला अहिले प्रभावित बनेको छ।

स्थानीयवासी पीडामा छन्, खेत सुक्खा छन्, इनार/नहर सुक्दै गएका छन्।

खानेपानीसिहत सबै क्षेत्रमा असर परेको पर्साबाट प्रदेश सभा सदस्य श्याम पटेलले आजको सदनमा तीव्र ध्यानाकर्षण गराएका थिए।

सदनमा बोल्दै सांसद पटेलले भने, “पर्सामा पानीको धेरै अभाव, जनता त्राहिमाम छन । जनता मरिरहेका छन् तर राज्य मौन छ।”

पर्सा जिल्ला मधेशमै रहेकोले पानीको समस्या तत्काल समाधान गर्न उनले आग्रह गरेका थिए ।

उनको भनाइपछि मुख्यमन्त्री सिंहले तत्काल मन्त्रिपरिषद् बैठक राखी निर्णय लिने आश्वासन दिएका थिए।

सरकारको आग्रह : सबैले साथ दिऊन्

सरकारको निर्णयअनुसार, प्रदेशका सबै जिल्लामा पानी व्यवस्थापन, राहत तथा सिँचाइ पूर्वाधारका लागि केन्द्रसँग समन्वय हुनेछ।

साथै स्थानीय तह, संघीय निकाय, गैरसरकारी संस्था र दातृ निकायहरूसँग पनि आपतकालीन सहयोगको लागि अपिल गरिने बताइएको छ।

लगातारको सुख्खा र वर्षा नहुनुले धान रोपाइँ ठप्प भएको छ।

किसानहरू खेतमा पानीको प्रतीक्षामा छन्। इनार सुकिसकेका छन्, नहर चल्न छाडेका छन्।

पर्साको एक किसानले भने, “खेत हेर्दा मन रुन्छ, माटो चिरा परेको छ। यो मौसममा यस्तो सुक्खा त कहिल्यै देखिएको थिएन।”

मधेश प्रदेशको लागि यो संकट केवल वातावरणीय मात्र नभएर खाद्य सुरक्षा, जनस्वास्थ्य र रोजगारीसँग जोडिएको भयावह समस्या बन्न थालेको जानकार बताउँछन।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै