वीरगन्ज । वीरगन्ज र यसका आसपासका क्षेत्रहरूमा खानेपानीको चरम संकट उत्पन्न भएको छ।
पानीको अभावका कारण स्थानीय बासिन्दाहरूले बिहानदेखि बेलुकासम्म पानीकै खोजीमा भौंतारिनु परेको अवस्था छ। यो समस्या नयाँ नभई विगतका वर्षहरूमा पनि देखिएको थियो, तर सरकारले यसको समाधानका लागि कुनै पूर्वतयारी नगरेको भन्दै जनमत पार्टीले ‘जल सत्याग्रह’ आन्दोलन सुरु गरेको छ।
जनमत पार्टीका नेता तथा कार्यकर्ताहरूले गाग्री र बाल्टिन बोकेर सडकमा उत्रिएका छन्। उनीहरूले ‘पानी दे या मारी दे’, ‘तीनै तहको सरकार मुर्दाबाद’, ‘वीरगन्जमा पानीको लागि विशेष प्याकेजको घोषणा गर’ लगायतका नारा लगाएका छन्। आन्दोलनकारीहरूले वीरगन्ज र पर्सा जिल्लालाई पानी संकटग्रस्त क्षेत्र घोषणा गरी तत्काल विशेष प्याकेज लागू गर्न माग गरेका छन्।

यो समस्या समाधानका लागि सरकार गम्भीर नभएको र वीरगन्जलाई उपेक्षित गरेको आरोप जनमत पार्टीका पर्सा अध्यक्ष ओमप्रकाश सर्राफले लगाएका छन् । उनीहरूले आफूहरू जनताको आवाज बुलन्द गर्न बाध्य भएको र आवश्यक परे मुख्यमन्त्री कार्यालयसमेत घेराउ गर्ने चेतावनी दिएका छन्। यो आन्दोलन आफ्नो पार्टीको सरकारविरुद्ध भए पनि जनमत पार्टी जनताको हकका लागि लड्न पछि नहट्ने नेता सर्राफले स्पष्ट पारेका छन्।