ट्रेन्डिङ

मधेश प्रदेश सभामा बजेटमाथि किचलोः ११ दिनपछि बसेको बैठक फेरी स्थगित

जनकपुरधाम । ११ दिनको अन्तरालपछि आज दिउँसो २ बजेबाट सुरु हुन लागेको मधेश प्रदेश सभाको बैठक विपक्षी दलहरूको चर्को विरोधका कारण सञ्चालन हुन सकेन।

बजेटमाथि छलफल गर्ने कार्यसूची रहेको बैठक सुरु हुनासाथ ६ विपक्षी दलले उठेर विरोध जनाएपछि सभामुख रामचन्द्र मण्डलले बैठकलाई पहिले आधा घण्टाका लागि स्थगित गरे र पछि अर्को सूचना नदिई सोमबार दिउँसो १ बजेसम्मका लागि सारिएको प्रदेश सभा सचिवालयले जनाएको छ।

सदनको बैठकमा मुख्यमन्त्री, भौतिक मन्त्री र अर्थमन्त्रीसहित प्रमुख दलका नेताहरू उपस्थित नहुनुले विपक्षी दलहरूलाई थप आक्रामक बनायो। प्रदेश सभा सचिवालयले मुख्य नेताहरूको अनुपस्थितिलाई पनि बैठक स्थगनको एक कारण बताएको छ।

विपक्षी दलहरूले यसपटक सरकारले ल्याएको बजेटमाथि गम्भीर असन्तुष्टि व्यक्त गर्दै बजेट पुनर्लेखनको माग गरेका छन्। माओवादी केन्द्र, जसपा नेपाल, नेकपा एकीकृत समाजवादी, राप्रपा, नेपाल संघीय समाजवादी र नागरिक उन्मुक्ति पार्टीले संयुक्तरुपमा बैठकमा विरोध जनाएका थिए। उनीहरूको मुख्य आपत्ति बजेटमाथि छलफल सुरु हुनुअगावैदेखि व्यक्त हुन थालेको हो, जसले गर्दा सदनको कार्यवाही अगाडि बढ्न सकेन।

आर्थिक विधेयकसँगै बजेटमाथि छलफल गर्ने आजको मुख्य कार्यसूची थियो। तर, विपक्षी दलहरूले बजेटमा आफ्नो सरोकारलाई पर्याप्त सम्बोधन नगरिएको र यसको प्राथमिकतामाथि नै प्रश्न उठाउँदै आएका छन्। बजेट प्रस्तुत भएदेखि नै सत्तारुढ गठबन्धनभित्र र बाहिर दुवैतिरबाट यसको आलोचना हुँदै आएको छ।

सभामुख रामचन्द्र मण्डलले बजेटमाथि छलफल सुरु नहुँदै विरोध भएपछि बैठक स्थगन गर्नुपरेको बताए ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै