ट्रेन्डिङ

पर्सा प्रहरीको हाई–टेक निगरानी : वीरगन्जमा ड्रोन र सीसीटीभीबाट ‘मोहर्रम’को सुरक्षा

वीरगन्ज । मुस्लिम समुदायले मनाउने मोहरम (ताजिया/दाहा) आज वीरगन्जमा कडा सुरक्षा व्यवस्था र समुदायको सक्रिय सहभागिताबीच शान्तिपूर्ण रूपमा मनाइदैछ ।

विगतमा देखिएको तनाबपूर्ण अवस्थाबाट पाठ सिक्दै यस वर्ष जिल्ला प्रहरी कार्यालय पर्साले सुरक्षा व्यवस्थालाई अत्यन्तै सुदृढ पारेको छ । जसको परिणामस्वरूप पर्वको पहिलो चरण आज बिहान सफलतापूर्वक सम्पन्न भएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा डीएसपी किशोर लम्सालले पर्वको सुरक्षा व्यवस्थापनको जानकारी दिँदै बिहानको दाहा प्रदर्शन पूर्णतया शान्तिपूर्ण रहेको बताए । ‘बिहान ८ बजे रानीघाट, मुर्ली र गहावाबाट निस्केका दाहा जुलुसहरू घण्टाघरमा आएर लाठी प्रदर्शन गरी बिहान साढे ९ बजेतिर शान्तिपूर्ण रूपमा समापन भए,’ डीएसपी लम्सालले भने, ‘बिहानको सुरक्षाका लागि करिब ४०० नेपाल प्रहरी र त्यत्तिकै संख्यामा सशस्त्र प्रहरी परिचालन गरिएको थियो।’

दोस्रो चरणको बृहत् सुरक्षा योजना

पर्वको दोस्रो तथा मुख्य चरणका लागि प्रहरीले थप बलियो सुरक्षा रणनीति अपनाएको छ । बेलुका ४ बजेदेखि विभिन्न टोलहरूबाट निस्कने दाहा जुलुसहरूका लागि डीएसपी लम्सालले विस्तृत सुरक्षा योजनाबारे जानकारी दिए । उनका अनुसार, पोखरिया, बेलवा, छिपरमाई, भिसवा, मुर्ली, श्रीपुर, रानीघाट, छपकैया, फूलबारी टोल, नगवा, रामटोल, गहावा र लाठगल्ली लगायतका मुस्लिम बस्तीहरूबाट जुलुसहरू निस्किनेछ ।

‘लाठगल्लीको जात्रा सिधै पुरानो बसपार्क पुग्नेछ भने, अन्य सम्पूर्ण जात्राहरू छपकैयाको मालपोत हुँदै आदर्श नगर भएर पुरानो बसपार्क पुग्नेछन्,’ डीएसपी लम्सालले रुटबारे प्रष्ट्याए । ‘नगवा, फूलबारी टोल, रामटोल र गहावाबाट निस्कने जात्राहरू भने घण्टाघर, माईस्थान, हनुमान मन्दिर हुँदै, लोहारपट्टी चोकबाट भित्र छिरेर पुरानो बसपार्कमा पुगी सूर्यास्तपछि समापन हुनेछन्।’

सुरक्षाकर्मीको बाक्लो उपस्थिति र प्रविधिको प्रयोग

बेलुकाको कार्यक्रमका लागि प्रहरीले ठूलो संख्यामा जनशक्ति परिचालनको योजना बनाएको छ । ९१३ जना नेपाल प्रहरी, जसमध्ये करिब ७०० जना वीरगन्ज क्षेत्रमै केन्द्रित सुरक्षा व्यवस्थामा खटिएका छन् । यसका अतिरिक्त, बागमती प्रदेश प्रहरी कार्यालय र मधेश प्रदेश प्रहरी कार्यालयका विभिन्न गण तथा नजिकका जिल्लाहरूबाट पनि थप २५० जना प्रहरी टोली मगाइएको र उनीहरू आइसकेको जानकारी डीएसपी लम्सालले दिए ।

सुरक्षालाई थप सुदृढ बनाउन सादा पोशाकमा धेरै प्रहरी परिचालन गरिएको छ । साथै, संवेदनशील स्थानहरूमा ‘हाई पोइन्ट ड्युटी’ राखिएको छ भने, ड्रोन क्यामेरा र अन्य सीसीटीभी क्यामेराबाट निरन्तर निगरानी गरिनुका साथै भिडियोग्राफी पनि गरिने भएको छ ।

शान्ति र समन्वयको सन्देश

विगतका घटनाहरूबाट पाठ सिक्दै यस वर्ष मोहरम पर्वलाई शान्तिपूर्ण बनाउन प्रशासनले समुदायसँगको समन्वयमा जोड दिएको छ । डीएसपी लम्सालले प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा मुस्लिम र हिन्दू समुदायका अगुवाहरू, वडाध्यक्षहरू तथा स्थानीय जनप्रतिनिधिहरूसँग पटक–पटक बैठक गरी शान्तिपूर्ण र सौहार्दपूर्ण वातावरणमा पर्व सम्पन्न गर्ने प्रतिबद्धता लिइएको जानकारी दिए ।

‘सबै पक्षको सहयोग र समन्वयले आजको मोहरम पर्व पनि कुनै अप्रिय घटनाविना शान्तिपूर्ण रूपमा सम्पन्न हुनेमा हामी विश्वस्त छौं,’ डीएसपी लम्सालले भने । प्रशासन र समुदायबीचको यो सकारात्मक समन्वयले वीरगन्जमा धार्मिक सद्भाव कायम राख्न महत्त्वपूर्ण भूमिका खेलेको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै