जनकपुरधाम । मधेश प्रदेश सभाको बैठक आज बस्दै छ ।
दिउँसो १ बजेदेखि बस्ने भनिए पनि सत्तापक्ष र प्रतिपक्षी दलहरू आ–आफ्नो आन्तरिक बैठकमा व्यस्त हुँदा अझै सुरु हुन सकेको छैन।
करिब ११ दिनको अन्तरालपछि बस्न लागेको यो बैठकमा मुख्यगरी प्रदेश सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमाथि छलफल हुनेछ।
संविधानिक व्यवस्था अनुसार असार ३० गतेभित्र बजेट पारित गरिसक्नुपर्ने बाध्यताका कारण यो बैठक निकै महत्त्वपूर्ण मानिएको छ। तर, बजेट पारित गर्ने समयसीमा नजिकिँदै गर्दा सत्तारुढ दलभित्रै देखिएको असन्तुष्टिले सरकारलाई चुनौती थपिएको छ।
यसपटकको बजेटमाथि सत्तारुढ दलभित्रै असन्तुष्टि देखिएकाले प्रदेश सभाको बैठक थप चासोका साथ हेरिएको छ। सरकारको नेतृत्व गरिरहेको जनमत पार्टीले नै आफूहरूले दिएका योजनाहरू बजेटमा समावेश नगरिएको भन्दै सार्वजनिक रूपमा असन्तुष्टि व्यक्त गरेको थियो। यसले गर्दा बजेट पारित गर्न सरकारलाई चुनौती थपिने सम्भावना बढेको छ।
बैठकअघि जनमत पार्टी, नेकपा एमाले, नेपाली कांग्रेसलगायतका प्रमुख दलहरू आ–आफ्नो संसदीय दलको बैठकमा जुटेका थिए। यी बैठकहरूमा बजेटमाथि लिने रणनीति र प्रस्तुत गरिने संशोधन प्रस्तावबारे छलफल भएको बुझिएको छ।
गत असार १ गते मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१÷८२ का लागि बजेट प्रस्तुत गरेको थियो। सो बजेटमाथि सत्तापक्षभित्रैबाट उठेका प्रश्नहरूले बजेटको अनुमोदन प्रक्रियालाई प्रभावित पार्न सक्ने अनुमान गरिएको छ।
प्रदेश सभामा बजेटमाथिको छलफलपछि आवश्यकता अनुसार संशोधन प्रस्तावहरूमाथि पनि बहस हुनेछ।