वीरगन्ज । आउँदो २०८२ साल असार २२ गते आइतबार मुस्लिम धर्मावलम्बीहरूले मनाउने मोहर्रम पर्वको ‘बाना भाज्ने’ कार्यक्रमको स्थललाई लिएर वीरगन्जमा सुरक्षा संवेदनशीलता र राजनीतिक अडानबीचको टकराव सतहमा आएको छ।
जिल्ला सुरक्षा समितिले पुरानो बसपार्कमा कार्यक्रम गर्दा सुरक्षा जोखिम बढ्ने भन्दै आदर्शनगर रंगशालामा सार्न अनुरोध गरे पनि महानगर प्रमुख राजेशमान सिंहले भने पुरानो बसपार्कमै कार्यक्रम गराउन अपील गरेका छन्।
जिल्ला प्रशासन कार्यालय पर्साले हिजो वीरगन्ज महानगरपालिकालाई पठाएको पत्रमा पुरानो बसपार्कमा मोहर्रमको कार्यक्रम गर्दा सुरक्षा संवेदनशीलताका कारण जोखिम बढ्ने स्पष्ट उल्लेख गरेको छ।
सहायक प्रमुख जिल्ला अधिकारी बाबुलाल रेग्मीद्वारा हस्ताक्षरित उक्त पत्रमा पुरानो बसपार्कमा तुलनात्मक रूपमा बढी सहभागिता रहने भएकाले यसलाई जोखिमयुक्त मानिएको र जिल्ला सुरक्षा समितिको बैठकले आदर्शनगर रंगशालामा कार्यक्रम सार्ने निर्णय गरेको जानकारी गराइएको छ। सुरक्षा व्यवस्थालाई थप सुदृढ बनाउन र कुनै पनि अप्रिय घटना टार्नका लागि यो निर्णय आवश्यक रहेको समितिको तर्क छ।
तर, जिल्ला सुरक्षा समितिको स्पष्ट निर्णय र सुरक्षा चासोका बाबजुद वीरगन्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले भने कार्यक्रम यसअघिको निर्णयअनुसार पुरानो बसपार्कमै गराउन अपील गरेका छन्। उनको यस अपीललाई विभिन्न राजनीतिक दलहरूले समेत समर्थन जनाएका छन्।
यो अवस्थाले सुरक्षा निकायको मूल्याङ्कन र स्थानीय राजनीतिक नेतृत्वको अडानबीचको तालमेल नमिलेको प्रस्ट देखाउँछ। एकातर्फ राज्यको सुरक्षा संयन्त्रले सम्भावित जोखिम औंल्याउँदै वैकल्पिक स्थलको सिफारिस गरेको छ भने, अर्कोतर्फ महानगर प्रमुख र राजनीतिक दलहरूले परम्परा र जनभावनाको नाममा सोही जोखिमयुक्त स्थलमै कार्यक्रम सञ्चालन गर्न जोड दिइरहेका छन्।
मोहर्रम मुस्लिम समुदायको लागि एक महत्वपूर्ण पर्व हो, जसमा ‘बाना भाज्ने’ लगायतका कार्यक्रमहरूमा ठूलो संख्यामा मुस्लिम समुदायको उपस्थिति रहने गर्दछ। यस्तो अवस्थामा सुरक्षा निकायको चिन्तालाई बेवास्ता गरी राजनीतिक लाभ वा जनमतको दबाबमा सुरक्षा मापदण्डमा सम्झौता गर्नु कति उचित होला भन्ने प्रश्न खडा भएको छ। यदि कुनै अप्रिय घटना घटेमा त्यसको जिम्मेवारी कसले लिने भन्ने विषयमा अहिले नै स्पष्टता आवश्यक देखिएको छ।